काठमाडौं । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ ।
नेकपा एमालेका सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् ।
सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रहरीले छिट्टै पक्राउ पर्ने बताएको छ ।
महतोमाथि मधेश आन्दोलका क्रममा भएको झडपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग छ।
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । उनीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । उनको अस्थायी बसोबास भने भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ ।









