काठमाडौं । ललितपुरमा बिदेशी ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना भेटिएको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबल लगायतका विदेशी ब्राण्ड र खुकुरी रम, एटएटफोरएट लगायत नेपाली कम्पतीका ब्राण्डैड मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ ।
नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









