नारायणगढ–मुग्लिन सडकमा पुल बनाउने काम थपिएको समयभित्र पनि नसकिने

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चार वटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो ।

गएको पुस ५ गतेदेखि दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्शनका फिल्ड सुपरभाइजर इन्जिनियर अर्जुन निरौलाले बताए ।

अहिलेसम्म आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकिएको उनको भनाइ छ । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम सकेको निरौलाले बताए ।

तर तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ । उकाअनुसार चिसेन्जी र तुइन खोलामा आठ वटा ठूला मेशिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जना खटिएका छन् ।

गाडी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा गएको पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठ वटा पुलको एकै पटक भित्तो काट्ने काम सुरु भएको थियो । यो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ ।

अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।