ब्राउन सुगरसहित प्रहरीका एक जुनियर अधिकृत पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ)  विराटनगरबाट पक्राउ परेका छन्।

भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ रानीस्थित १ नम्बर ढाटबाट असइ घनश्याम लाखे पक्राउ परेका हुन्। उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।  इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ।