मनोज पाण्डेलाई ७ वर्ष कैद‚ पीडितलाई ७५ हजार क्षतिपूर्ति

काठमाडौं । सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो  । जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्दामा पाण्डेलाई ६ महिना कैद, पीडित युवतीलाई ५० हजार क्षतिपूर्ति र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

पाण्डेले आफूलाई पटक–पटक यौनशोषण गरेको, त्यसपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको र आत्मबल टुटेको हुनाले औषधिको सहारा लिनुपरेको ती युवतीले बताएकी थिइन् ।

आठ वर्ष लामो अन्तर्द्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनलाई न्याय प्राप्तिका लागि हदम्याद तगारो बनेपछि प्रेस, सडक र संसद्मा समेत बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने आवाज उठेको थियो ।