सरकारले २२ टन राहात सामग्री टर्की पठायो

काठमाडौं । सरकारले टर्कीका भूकम्पपीडितका लागि पहिलो चरणको राहत सामग्री पठाएको छ। पहिलो चरणअन्तर्गत २२ टनभन्दा बढी राहत सामग्री आज दिउँसो टर्की पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले टर्किस एयरलाइन्समार्फत पठाएको राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्री समावेश छन्।

गत सोमबार आएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी ३३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने हजारौँ घाइते र घरबारविहीन भएका छन्।

गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।