दीपेन्द्र के खनालको नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’लाई हिन्दी भाषामा पनि उल्था गरिने भएको छ । अभिनेता हुँदै निर्देशक बनेका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशन रहेको चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि उल्था गरिने जानकारी दिएका हुन् ।

भारतमा बजार पाउन सक्यौ भने निर्माणमा अझैँ भव्यता पाइनेछ भनेर विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयासमा लागेको पाण्डेले बताए ।

चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनालले हिन्दी भाषामा नेपाल प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको भन्दै आफूहरु छलफलमै रहेको बताए । नेपालमा हिन्दी भाषा प्रदर्शन गर्नै पर्ने भन्ने छैन। हिन्दी भाषा विशेषत भारतसँगै विदेशी बजारको लागि हो’, लेखक खनालले भने।

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन्। विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बइमा गरिएको छ।

हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ।

केही समयदेखि नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ। गत वर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन्।