तराईका जिल्लाको तापक्रम ४० डिग्री नाघ्यो, पाँच दिन ‘लु’ लाग्न सक्ने, जोगिन यी उपाय अपनाऔं

काठमाडौं । आगामी पाँच दिन तराई भू–भागमा तातो हावा चल्नुका साथै ‘लु’ लाग्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाले शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन ‘लु’ लाग्न सक्ने चेतावनी दिएको हो । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएकाे महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको विभागले जनाएको छ ।

तातो हावा तथा ‘लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने लक्षण देखा पर्छ । कडा लक्षणहरू भएमा शरीर काम्नु, कोमा, र मृत्यु समेत हुन सक्ने चिकित्सकले बताएका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृदा, गर्मीमा रहेर काम गर्ने, खेल्ने व्यक्तिहरूमा ‘लु’को समस्या बढी हुने गरेको पाइएको छ । तर, अत्यधिक गर्मी हुने स्थानमा जो कोहीलाई पनि यो समस्या हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरू सुझाव दिएका छन् ।

लु लाग्नबाट बच्ने उपाय

दिउँसो घरबाट बाहिर ननिस्कने, चिसो पानीले नुहाउने, फलफूलको रस, पानी पिउने र धेरै पसिनामा आएमा कहिलेकाही जीवनजल पिउने,  बाहिरै निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, खेतवारीमा कामकाज सकभर विहान वा बेलुका गर्ने, मदिरा सेवन नगर्ने,  क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने,. चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने गर्नु पर्छ । र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

यस्ताे छ विभागकाे बुलेटिन–

विशेष बुलेटिन : तातो दिन तथा लू सम्बन्धी बुलेटिन – १ (Hot days & Heat wave Bulletin – 1)

(जारी मितिः २०८०/०२/१९ दिउँसो २: ०० बजे) 

हालको अवस्थाः

विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र देशको तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।

चेतावनी तथा परामर्शः

आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी  पाँच दिन सम्म तातो हावा तथा लू (Heat wave) लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।

सम्भावित असर तथा सुझावहरूः

तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

सुझावहरूः

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।