गर्मी बढेपछि पौडी खेल्न जाँदा डुबेर मर्नेको संख्या बढ्दो, नवलपुरमा शिक्षकले ज्यान गुमाए

कावासोती । नवलपुरको आरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ। देवचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका-१४ बतासास्थित अरुणखोला दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका-१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक थिए। अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए।

साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका-३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ। नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका-१० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको प्रहरी नायव उपरिक्षक पाठकले जानकारी दिए ।

नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका-२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।