मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेले नवलपुरमा अव अनिवार्य सचेतना कक्षा लिनु पर्ने

कावासोतो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकले नवलपुरमा अव अनिवार्य सचेतना कक्षा लिनु पर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले असार १ गते देखि लागु हुने गरी यस्तो व्यवस्था लागु गरेको हो ।

कुनै पनि सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएमा उनीहरुले ट्राफिक जरीवानाका साथै १ घण्टा सचेतना कक्षामा सहभागी हुनुपर्नेछ । यसरी सचेतनामा सहभागी भएको निस्सा पश्चात मात्र सवारी साधनर वा सम्बन्धित कागजपत्र प्रदान गरिने नवलपुरका ट्राफिक कार्यालय प्रमुख प्रहरी निरिक्षक गणेश पौडेलले समाचार सेवालाई जानकारी दिए ।

खास गरी सवारी दुर्घटना न्युनिकरण एवं सडक अनुशासन कायम गर्दै जनताको सुरक्षित यात्राको अधिकारलाई सुनिश्चित गर्न सचेतना कक्षा संचालन गर्नु परेको प्रहरी निरिक्षक पौडेलको भनाइ छ । सचेतना कक्षा प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहन १० बजेदेखि ११ बजेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सञ्चालन हुनेछ ।

हाल जिल्लामा हुने नियमित चेकजाँचमा दैनिक १०९१५ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको तथ्याङ्क छ । पछिल्लो २ महीनामा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ३३ जनालाई कारवाही गरीएको छ ।

सवारी दुर्घटनाका बिभिन्न कारणहरुमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण रहेकोले समेत सचेतना कक्षा अनिवार्य गर्नु परेको पौडेलले बताए । सचेतना कक्षा कार्यक्रमले जनधनको क्षति न्यूनिकरण र समग्र सडक सुरक्षामा महत्वपुर्ण भुमिका खेल्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।