काठमाडौं । तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) सहित ८ जनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्ने यूट्युवरमा एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो ।
उनीहरुको बयानका आधारमा कलाकारसहित यूट्युवरलाई पक्राउ गरिएको अपराध महाशाखाले जानकारी दिएको छ । उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा बुझाउने तयारी छ ।
नेपालमा सट्टेबाजी कानुनविपरीत मानिन्छ ।
अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरूपमा सक्रिय भएको पाइएको हो ।









