पाँचथर र ताप्लेजङमा बाढी पहिरोमा परि १० जना वेपत्ता

विराटनगर । अविरल वर्षासँगै गए राति आएको बाढीले बगाउँदा पाँचथरमा  छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित छ जना बेपत्ता भएका हुन् ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

यस्तै ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले जानकारी दिए ।