काठमाडौं । आज गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा ५५.२ मिलिमिटर र ताप्लेजुङमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । आज पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार ताप्लेजुङको आकाश बादलले आज बिहान पनि पूरै ढाकेको छ ।









