भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

चितवन । भरतपुर महानगरमा छिर्ने जो कोही यहाँको विकास निर्माण देखेर दङ्ग पर्ने गर्दछन् । भौतिक पूर्वाधारमा देशमानै अग्रणी बनेको भरतपुरका सहरदेखि गाउँ–गाउँसम्म अग्ला अग्ला पानीका ट्याङ्की देख्न सकिन्छ । अन्य पूर्वाधारसँगै खानेपानी विस्तारमा महानगरपालिकाले छलाङ् मारेको छ ।

पहिलो पटक जनप्रतिनिधि आएसँगै उनीहरुको ध्यान स्वच्छ खानेपानी पुर्याउने भएकै कारण अहिले महानगरपालिकाका ९३ प्रतिशत बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । जनप्रतिनिधि आएपछिको ६ वर्षमा महानगरपालिकाभित्र २६ वटा ठूला आयोजना सञ्चालनमा रहेका छन् । कतिपय निर्माण सम्पन्न भईसकेका छन् ।

माहानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो ।

महानगरपालिकाले दिएको जानकारी अनुसार ती आयोजनामा झण्डै ४ अर्ब लगानी भएका छन् । अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ ।

६ वर्ष अघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दामात्र खानेपानीको पहुँचमा थिए । त्यसो त भरतपुर महानगरपालिकाले मासिक ७ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा ३ करोड महानगरपालिकाले विनियोजन गरेको छ ।

यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० वटा ठूला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुरमा शत प्रतिशत खानेपानी पु¥याउने गरी काम भईरहेको छ । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने छ ।

दाहालले भनिन्, ‘हाम्रो दोस्रो कार्यकाल सकिनु पूर्वनै शत प्रतिशत उपभोक्ताकोमा पानी पु¥याउँदै छौ ।’ कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो । साना उपभोक्तालाई निःशुल्क पानी दिईएकाले सबैलाई स्वच्छ खानेपानी उपयोग गर्न दाहालले अनुरोध गरिन् ।

दाहालका अनुसार शारदानगर खानेपानी आयोजनामा ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख खर्च हुँदैछ ।

त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख, भरतपुर १० मा एउटै ट्याङ्की ९ लाख लिटरको निर्माण गरीएको छ । जुन नेपालकै सबैभन्दा ठूलो ट्याङ्की हो ।

कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।

पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ मा १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ ।

महानगर प्रमुख दाहालले कतिपय आयोजना सम्पन्न भइसकेको, कतिपय काम भइरहेको र कतिपयमा विस्तारको काम गरिएको जानकारी दिइन् । उनका अनुसार महानगरले आवश्यक ठानेका ठाउँहरुमा खानेपानी आयोजनाका लागि बोर्ड, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गरेका कारण सफलता मिलेको हो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए । अधिकारीले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पु¥याउने काममा महानगर लागि परेको बताए ।
––––