काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजस मास्टर) सहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ । उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।
दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ। प्रहरीले जेठ ३१ र ३२ गते दुई पटक अनलाइन जुवा प्रकरणमा यसका एजेन्ट र कयौँ कलाकारलाई पक्राउ गरेको थियो। यो प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्।
त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।









