कावासोतीमा सर्वाधिक राशीको कौराहा नाच प्रतियोगिता

कावासोती । नवलपुरको कावासोतीमा मगर संस्कृति भित्रको कौराहा (कान्राह) नाच प्रतियोगिता हुने भएको छ । आजदेखि कावासोतीमा हुन लागेको प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सवमा कौराहा नाच प्रतियोगिता हुन लागेको हो ।

आयोजक नेपाल मगर संघ, नवलपुरका अनुसार यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको राष्ट्रिय प्रतियोगिता हो । जसको प्रथम पुरस्कार एक लाख रुपैयाँ, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रहेको नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका उपाध्यक्ष एवं महोत्सवका सांस्कृतिक संयोजक देव गाहा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा गण्डकी र लुम्विनी प्रदेशका विभिन्न जिल्लाबाट १५ टोलीको सहभागिता रहनेछ । विधिवत रुपमा नचाइने कौराहा नाचको सुरुवात नै मगर समुदायको वाहुल्यता रहेको गण्डकी प्रदेशबाट भएको मानिन्छ ।

महोत्सवमा नवलपुर कल्चरल डान्स आईडलको रुपमा सबै जातजातिका सांस्कृतिक नाचहरु पनि प्रतियोगिताको रुपमा समावेश गराइने महोत्सवमा सांस्कृतिक संयोजक मगरले जानकारी दिए । त्यस्तै महोत्सवमा लोपुन्मुख अवस्थामा रहेका सोरठी, घाटु र झ्याम्रे नाच पनि देखाइने आयोजकको भनाइ छ ।

जिल्लामा पहिलो पटक हुन लागेको महोत्सवमा मगरहरुको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताए ।

मंसिर ११ गतेसम्म चल्ने महोत्सवमा एक सय ५० वटा स्टल राखिने छ । महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरुको पहिचान झल्कने प्रवेशद्धार, मगरहरुले परापूर्वकालमा प्रयोग गर्ने घरका नमूना, भाडाकुडाको प्रदर्शनी कक्ष पनि रहने उहाँले जानकारी दिए ।