१० तस्बीरमा हेर्नुहोस् कावासोतीमा सुरु भएको मगर महोत्सव

बोमलाल गिरी/कावासोती । नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर संघ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मंसिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभयो । जिल्लामा पहिलो पटक भएको महोत्सवमा मगरहरुको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा पुर्याउने नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताए ।

महोत्सवमा एक सय ५० वटा स्टल राएिको छ । महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरुको पहिचान झल्कने प्रवेशद्धार, मगरहरुले परापूर्वकालमा प्रयोग गर्ने घरका नमूना, भाडाकुडाको प्रदर्शनी कक्ष राखिएको छ । त्यस्तै मगर संस्कृति भित्रको कौराहा (कान्राह) नाच प्रतियोगिता पनि हुने भएको छ ।

आयोजकका अनुसार यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको राष्ट्रिय प्रतियोगिता हो । जसको प्रथम पुरस्कार एक लाख रुपियाँ, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रहेको महोत्सवका सांस्कृतिक संयोजक देव गाहा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा गण्डकी र लुम्विनी प्रदेशका विभिन्न जिल्लाबाट १५ टोलीको सहभागिता रहनेछ । विधिवत रुपमा नचाइने कौराहा नाचको सुरुवात नै मगर समुदायको वाहुल्यता रहेको गण्डकी प्रदेशबाट भएको मानिन्छ ।

महोत्सवमा नवलपुर कल्चरल डान्स आईडलको रुपमा सबै जातजातिका सांस्कृतिक नाचहरु पनि प्रतियोगिताको रुपमा समावेश गराइने महोत्सवमा सांस्कृतिक संयोजक मगरले जानकारी दिए । त्यस्तै महोत्सवमा लोपुन्मुख अवस्थामा रहेका सोरठी, घाटु र झ्याम्रे नाच पनि देखाइने आयोजकको भनाइ छ ।