चैते पुर्णिमाको अवसरमा बौदीकालीमा मेला तथा अकलादेवी कप भलिबल प्रतियोगिता हुने

चैते पुर्णिमाको अवसरमा बौदीकाली-२ डेढगाउँमा चैते पुर्णिमा मेला तथा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुने भएको छ ।

बौदीकाली-२ डेढगाउँमा रहेको अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा यहि वैशाख ११ देखि १४ गतेसम्म मेला तथा भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

मेला तथा प्रतियोगितामा पालिकास्तरीय भलिबल प्रतियोगिता सँगै स्थानीय कलाकार प्रस्तुति रहने अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष टंक पुलामीले जानकारी दिए ।

नवलपुर, तनहुँ, स्याङजा, पाल्पा र बाग्लुङका विभिन्न पालिकाबाट १० भन्दा धेरै टिमले भाग लिने आयोजकको भनाइ छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार र द्वितीय पुरस्कार ७५ हजार रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।


त्यसै गरि प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्य दुई टिमलाई २०/२० हजार, उत्कृष्ट खेलाडीलाई ८ हजार तथा उत्कृष्ट स्पाईकर, ब्लकर, सेन्टर, लिबेरो र प्रशिक्षकलाई जनही ५ हजारको दरले पुरस्कारको व्यवस्था गरिएको समितिका सचिव श्याम श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा जिल्ला भलिबल संघको प्राविधिक सहयोग रहने छ भने जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सन्चालन हुने जनाईएको छ । नवलपुरको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अकलादेवी मन्दिरमा हरेक वर्ष चैते पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ ।

मेलासँगै विगतका वर्षहरुमा झै यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरिएको बताउदै समितिका सचिव श्याम श्रेष्ठले यस वर्ष मेला सँगसँगै आयोजना गरिएको भलिबल प्रतियोगिता थप रोचक र प्रतिस्पर्धात्मक हुने जानकारी दिए ।

कालिगण्डकी करिडोरसँगै रहेको अकलादेवी मन्दिरमा हरेक वर्ष चैते पूर्णीमाका दिन धार्मिक मेला लाग्ने गर्दछ । नवलपुर सहित छिमेकि जिल्लाहरु तनहुँ, स्याङ्जा, पाल्पा, चितवन, गुल्मी, कास्की सहित देशका अन्य भागबाट समेत भक्तजनहरु मनोकामना पुरा हुने मान्यताले पुजाअर्चनाका लागि अकलादेवी मन्दिर आउने गर्दछन् ।

भलिबल प्रतियोगिता सँगै आयोजना गरिएको मेलामा स्थानीय उत्पादनको बिक्रीवितरण तथा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सचिब श्रेष्ठले बताए । उनका अनुसार मेला तथा भलिबल प्रतियोगिताका लागि विभिन्न उपसमितिहरु बनाएर काम अगाडी बढाईएको छ ।