ह्वाइट हाउस बाहिर गोली चल्यो, राष्ट्रपति ट्रम्प सुरक्षित,आक्रमणकारी मारिए

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ। शनिबार साँझ ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका हुन्।

अमेरिकी सिक्रेट सर्भिसका अनुसार एक व्यक्तिले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए। लगत्तै सुरक्षाकर्मीहरूले जवाफी फायर गर्दै ती व्यक्तिलाई गोली हानेका थिए। जवाफी कारबाहीमा गोली हानेपछि उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। तर उनको अवस्था कस्तो छ भन्ने स्पष्ट भइसकेको छैन। घाइतेलाई लागेको गोली कसले चलाएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।रोयटर्सका अनुसार, ती व्यक्ति मानसिक रूपमा अस्थिर रहेको र यसअघि उनलाई उक्त क्षेत्रबाट टाढा रहन आदेश जारी गरिएको एक सुरक्षा अधिकारीले बताएका छन्।

घटनामा कुनै सुरक्षाकर्मी घाइते नभएको जनाइएको छ। घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए।साँझ करिब ६ः१५ बजे ह्वाइट हाउस परिसर वरपर लगातार गोलीको आवाज सुनिएको थियो।त्यसपछि त्यहाँ रहेका पत्रकार तथा टेलिभिजन टोलीलाई सुरक्षाका लागि आश्रय लिन निर्देशन दिइएको थियो।

सिक्रेट सर्विसका अनुसार घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए । तर, यो घटनाबाट राष्ट्रपति वा अन्य कुनै विशिष्ट व्यक्तिको सुरक्षामा कुनै आँच नआएको र ह्वाइट हाउसको कार्यसञ्चालनमा कुनै असर नपरेको सीबीएस न्यूजले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार बन्दुकधारीले एक्लै गुप्तचर एजेन्टहरूलाई लक्षित गरी असफल आक्रमणको प्रयास गरेका थिए । प्रत्यक्षदर्शी र स्रोतहरूका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्ड गोली चलेको आवाज सुनिएको थियो ।

घटनालगत्तै ह्वाइट हाउस वरपरका सडकहरूमा दर्जनौं प्रहरी र अन्य अधिकारीहरू परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।