राष्ट्रसंघको ‘लस एन्ड ड्यामेज’ कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । कोषको बिहीबार बसेको विशेष बैठकले नेपालका लागि सम्भावित सहायता र त्यससँग सम्बन्धित सुपरिवेक्षण खर्च छुट्टयाउने निर्णय गरेको हो । कोषकी बोर्ड सहअध्यक्ष क्यामिला मिनर्भा रोड्रिगेजले बैठकमा कसैको औपचारिक आपत्ति नआएपछि नेपालको प्रस्तावसम्बन्धी निर्णय पारित भएको घोषणा गरेकी थिइन्।
कोष स्थापना भएयता कुनै निश्चित मुलुकका लागि रकम अस्थायी रूपमा छुट्याइएको यो पहिलो अवसर हो। भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो ।
बाढीका कारण १ हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् । करिब १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा धेरै सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् ।







