पटक पटक लाईन काटेपछि मध्यविन्दु अस्पताल र विद्युत प्राधिकरण प्रमुखबीच बोलचाल बन्द

बोमलाल गिरी
नवलपुर, जेठ ३१ गते । मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुरले पटक पटक विद्युत कटौती हुँदा सेवा प्रवाहमा निक्कै समस्या भएको बताएको छ । अस्पतालले शनिवार पत्रकार सम्मेलन गरी शल्यक्रिया र डायलासिस गरिरेको बेलामा र आकस्मिक सेवामा समेत पटक पटक विद्युत कटौती हुँदा समस्या भएको बताएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश प्रसाद आचार्यले शल्यक्रिया र डायलासिस गरिरशेको बेलामा लाईन जाँदा बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको बताए । ”अस्ति डाईलासिस गरिरहेको बेलामा लाईन गयो र रगत नै बाहिर भयो, एकैछिन पनि बुध्दि पुर्याएर काम नगरेको भए बिरामीको ज्यानै जान सक्थ्यो,” मेसु डा आचार्यले भने ।

अस्पतालसँग भएको थोरै क्षमताको जेनेरेटरले थेग्न नसकेको उनले बताए । ”नया भवनबाट सेवा सञ्चालन गरेपछि पाँच सय केभि क्षमताको जेनेरेटर चाहिने रहेछ, हामीसँग भएको जेनेरेटर एक सय २५ केभिको मात्र छ, मेसु डा आचार्यले भने, ”पुरानो भवनमा हुँदासम्म त्यसैले धानेको थियो, नयाँ भवनमा थेगन सकेन ।”

त्यो क्षमताको नयाँ जेनेरेटर किन्न झण्डै ६०/७० लाख रुपियँ चाहिने र त्यति धेरै रकम अस्पतालसँग नभएको उनको भनाइ छ । प्रदेशले भोली बजेट सार्वजनिक गर्दा आफुहरुको यो माग सम्बोधन गर्नेमा आफु आशावादी रहेको उनले बताए ।

यसबारेमा विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रमा पटक पटक भेटेर, फोन गरेर आग्रह गर्दा माथिबाटै सिस्टमले काटिएको जवाफ दिने गरेको आचार्यले गुनासो गरे । ”कार्यालय प्रमुखहरुसँगको बैठकमा पनि गुनासो सुनाए, कतैबाट सम्बोधन भएन, मेसु डा आचार्यले भने, प्राधिकरण प्रमुखसँग अहिले मेरो त राम्रोसँ बोलचाल पनि छैन ।”