पाकिस्तानमा बाढी पहिरोमा परी ३ सय ४० जनाको मृत्यु

पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो। जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जंनौं घाइते भएका छन्। पाकिस्तान अधिनस्थ जम्मु(कश्मीरमा ११ जना र गिलगित(बालिस्टान क्षेत्रमा १२ जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणलाई उद्दृत गर्दै जियो टीभीले जनाएको छ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्। उद्दारमा २ हजारभन्दा बढी मानिस खटिएका छन्। उद्दार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्। पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा ६ सय टन खाद्यान्न पठाएको छ।

सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाले घटना ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन्।

यसैबीच उद्धारमा प्रयोग भइरहेको प्रान्तीय सरकारको हेलिकोप्टर मौसम खराबी कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन्। पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिएको छ।

विभागले जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ। सरकारले शनिबार देशव्यापी शोकको घोषणा गरेको छ भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ। मृतकलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने पाकिस्तान सरकारले जनाएको छ।