भदौ १७ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । यमनका हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका अल जजिराले जनाएको छ । यमन अहिले हुथी विद्रोहीको कब्जामा छ ।
हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो ।
हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी मारिएका छन्। उनलाई इजरायलले निशाना बनाएको हो ।’ केही मन्त्रीसहित उनी मारिएको बताइएको छ,तर कति मन्त्री मारिए भन्ने प्रष्ट पारिएको छैन । हुथी विद्रोहीले यसको बदला लिने घोषणा गरेको पनि अल जजिराले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेस (आइडिएफ) ले यमनको राजधानी सानालाई लक्षित गरेर आक्रमण गर्दा अन्य कैयौँ वरिष्ठ अधिकारी पनि मारिएको इरान समर्थित समूहले जनाएको छ । आइडिएफका अनुसार इजरायली लडाकु विमानले साना क्षेत्रमा भेला भएका मानिसमाथि आक्रमण गर्दा रहावी र अन्य वरिष्ठ हुथी अधिकारी मारिएका थिए ।
सन् २०१४ यता हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई सत्ताच्यूत गरी विनाशकारी गृहयुद्ध सुरु गरेपछि उत्तर–पश्चिमी यमनको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । रहावीले सन् २०२४ को अगस्टयता प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए । हुथी विद्रोहीले रहावी र केही हुथी मन्त्रीसँगै मारिएको दाबी गरे पनि अन्यको भने नाम खुलाएको छैन ।
साउदी अरेबियाको समाचार साइट अल हदाथका अनुसार सो घटनामा हुथी विद्रोहीका विदेशमन्त्रीका साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रममन्त्री मारिएका छन् । हुथी विद्रोहीका राष्ट्रपति महदी अल मसतको कार्यालयले आक्रमणका कारण अन्य कैयौँ मन्त्री घाइते भएको जनाएको छ । अब हुथी विद्रोहीका उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको भूमिका समाल्ने उक्त कार्यालयले बताएको छ ।
युक्रेनका पूर्वसभामुखको हत्या
उता युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परुबियको हत्या भएको छ । युक्रेनको पश्चिमी सहर लिविभमा पूर्वसभामुखमाथि एक शङ्कास्पद व्यक्तिले अन्धाधुन्द गोली चलाएर उहाँको हत्या गरेको हो । गोली प्रहार गरी हत्यारा फरार भएको र परुबियमाथि धेरै गोली प्रहार भएको समाचारमा जनाइएको छ ।
गोली प्रहारबाट ५४ वर्षीय परुबियको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।