गगन थापाको घरबाट फ्रिज चोर्ने पक्राउ

जेन–जी आन्दोलनको मौका छोपेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो।  उनको साथबाट फ्रिज र उफरसमेत बरामद गरिएको गौशाला प्रहरीले जनाएको छ ।

२३ भदौमा भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन–जीमाथि राज्य पक्षले दमन गर्दा एकैदिन कम्तीमा २२ जनाको गोली लागेर ज्यान गएको थियो।

भोलिपल्टको प्रदर्शनले विध्वंसको रुप लिएको थियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित महत्वपूर्ण संरचनामा आगजनी भएको थियो। शीर्ष नेता, पार्टी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी र तोडफोड भएको थियो।