
बडो अचम्मको छ नेपाली समाज । नेपाललाई त्यसै भनिएको होइन कि यहाँ चार जात छत्तिस वर्णका मानिस बस्छन् र हरेकले फरक किसिमका सांस्कृतिक चालचलन मान्ने गर्छन् । त्यसैले नेपाली समाज रङ्गीचङ्गी फूलहरूको फूलबारी हो भन्ने गरिन्छ । त्यसो त नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १४२ किसिमका जातजाति बस्ने गर्छन् र १२४ थरिका भाषा बोल्ने गरिन्छ ।
अर्काथरि व्यक्तिले भन्ने गर्छन् नेपालमा त धेरै किसिमका चाडबाडहरू मान्ने गरिन्छ र ती मध्ये नेवार समुदायले मान्ने चाडबाडको अध्ययन गर्ने हो भने नेवारहरूले ३६५ दिनमा ३६६ दिन चाडबाड मनाउने गर्छन् । त्यस्तै नेपाल मन्दिर नै मन्दिर भएको देश हो भन्ने गरिन्छ । भगवान शिव लगायत धेरै देवीदेवताको जन्मस्थल, बसोबास स्थल र तपस्या गर्ने स्थल नेपाल हो भन्नेहरूको जमात पनि ठुलै छ ।
यी सबै कुराहरू पूर्वीय दर्शनमा आधारित हिन्दु परम्परामा उल्लेख भएका विभिन्न ग्रन्थहरूमा समेत पाइन्छन् जुन नेपाली समाजमा प्रत्यक्ष देखिन्छ । नेपालमा कुनैबेला ९५ प्रतिशत हिन्दु मात्र थिए र अरु धर्म मान्ने मानिसहरू थिएनन् तर समयक्रममा विभिन्न धर्म मान्ने व्यक्तिहरूको उदय हुनथाल्यो वा धर्म परिवर्तन हुनथाले र अहिले मिश्रित खालको धर्म मान्ने समुदाय देखिन्छ तापनि हिन्दु धर्म मान्नेको जमात (८१.१९ प्रतिशत) ठुलै छ ।
नेपालमा मनाइने राष्ट्रिय पर्वहरू दशैं र तिहार पछि अन्य विभिन्न पर्वहरू पनि छन् जुन यहाँको मौलिक संस्कृतिमा आधारित रहेका छन् । खासगरी श्रावण महिनामा पर्ने नागपञ्चमी पर्व पछि वैशाखसम्म लगातार साना ठुला चाडबाडहरू नेपालमा परिरहन्छन् । जनैपूर्णिमा, कृष्णअष्टमी, हरितालिका तीज, जितिया, दशैं, तिहार, छठपर्व, ल्होसार, माघी, उभौली, उधौली, बुद्धपूर्णिमा, शिवरात्री, होली, चैतेदशैं आदि चाडबाडहरू विभिन्न महिनामा पर्दछन् ।
ब्राम्हण क्षेत्री समुदाय बाहेक नेवार, मगर, गुरुङ्ग, थारु, तामाङ्ग, शेर्पा, राई, लिम्बु जस्ता आदि सम्प्रदायहरूले विभिन्न चाडबाड मनाउने गर्दछन् । यो नेपालीहरूको पहिचान पनि हो । तर यस आलेखमा नेपाली समाजमा महिलाहरूको असाध्यै लोकप्रिय चाड हरितालिका तीजका सम्बन्धमा विशेष चर्चा गरिनेछ ।
तीजको सन्दर्भ
वैदिक पात्रो अनुसार भाद्रशुक्ल प्रतिपदादेखि सुरु भई पञ्चमीको पूजा साङ्गतासँगै समापन हुने अति लामो पर्व तीज अहिलेसम्म पनि नेपाली समाजमा निकै लोकप्रिय रहेको छ । तीज मुख्यगरी नेपाली र विशेषतः हिन्दु नारीहरूको निकै पवित्र दिन पनि हो । तीज पर्वमा खासगरी मिष्ठान्न भोजन ग्रहण गर्ने, व्रत बस्ने, गीत गाउने, नाच्ने, गरगहना र राम्रो पहिरन लगाउने, उपवास र स्नानका साथै ऋषिमुनिहरूको समेत पूजा गरेर मनाइन्छ ।
समाजको परिवर्तनसँगै तीजमा पनि समयानुसार परिवर्तन हुँदै गएको छ । छाडा गीत, उत्ताउला नाच, उत्ताउला ड्रेस र खानपिन लगायत विभिन्न ठाउँमा महिनौं दिनसम्म निरन्तर अस्वाभाविक खानपिनमा ध्यान दिनु, खर्च गर्नु आदि तीजका विकृति हुन् । यसका अलावा तीजलाई माइतीघरसँगको सामिप्यता समेत जोडेर हेरिन्छ ।
वर्षदिनभरि माइत जान नपाएकि चेली पनि तीज आएपछि बाबा छोरीलाई लिन जाने र माइतीमा मिठा मिठा परिकार खाने, दुःखसुखका कुरा गर्ने, गीत मार्फत दुःख र पीडाका गन्थन गर्ने जस्ता प्रचलन रहेका थिए भने अहिले विज्ञान र प्रविधिको युगसँगै यस्ता चालचलनमा पनि कमी आउन थालेको छ ।
तीजका मुख्य ४ दिन
तीज पर्वमा मुख्यतया ४ दिनसम्म विभिन्न प्रचलनका साथ यसप्रकार मनाउने चलन रहेको छ ।
१. पहिलो दिन (दर खाने दिन) : यो तीजको पहिलो दिन हो जुन मुख्य दिन तीजको अघिल्लो दिन पर्दछ । यस दिनमा विवाहित तथा अविवाहित दिदीबहिनी सबै मिलेर परिवारका सदस्यहरूसँग बसेर दाजुभाइले दर खुवाउने गर्दछन् । मध्यराति वा उज्यालो हुनु अघि नै खिर, चिल्लोमा पकाएको खाजा, दुध, दही, घिउ, फलफूल वा माछामासु आदि खानालाई दर भनिन्छ ।
दरमा ढकने, आलुचप, आलु कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई. जस्ता अडिला खाना आदि पर्दछन् जुन निकै अडिला खाना हुन् । यस्तो दर खाँदै रातभर नाचगान सहित रमाइलो गर्ने प्रचलन पनि छ । यस्ता धेरैप्रकारका र अडिला खाना खाइने हुँदा दिदीबहिनीलाई अर्को दिन तीजमा व्रत बस्न कुनै समस्या हुँदैन ।
तर दर खाने वा संस्कृतिको जगेर्ना गर्नका लागि भनेर आजकाल विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्ने प्रचलन छ । यो बाहेक महिनौं दिनसम्म होटल, रेष्टुरेण्ट, साथीसँगीको घर गएर खान हुने नहुने सबै किसिमका परिकार खाने, उत्ताउला गीत गाउने र उत्ताउलो नाच्ने चलनले भने धेरै विकृति निम्त्याएको छ ।
२. दोस्रो दिन (तीजको दिन) : दर खाने दिनको भोलिपल्ट यो व्रत बस्ने महत्वपूर्ण पवित्र दिन पर्दछ । यो दिनलाई हरितालिका तीज भनिन्छ । यस दिनमा महिलाहरूले केही पनि नखाइ (निराहार वा निर्जला व्रत) दिनभर व्रत बस्ने, नाचगान गर्ने र बेलुकापख शिवजीको पूजा गर्ने गर्दछन् ।
यो दिन धार्मिक परम्परासँग जोडिएको छ । ‘हरितालिका’को अर्थ मातापिता र बसेको ठाउँबाट साथीसँगीले सुटुक्क अन्यत्र लगेर लुकाएकि नारी भन्ने अर्थ लाग्छ । धार्मिक कथा अनुसार सतीदेवीले आफ्ना श्रीमान् महादेवको अपमान गरेको सहन नसकेर उनका पिता दक्षप्रजापतिले गरिरहेको हवन कुण्डमा हाम फालेर देह त्याग गरेपछि उनको आत्मा हिमालय पर्वत र मेनुकाको कोखमा बस्न पुग्यो र पार्वतीका रुपमा उनको जन्म भयो ।
पार्वतीले सानैदेखि श्रीमहादेव स्वामी पाउँ भनी जप, तप, प्रार्थना र कठोर व्रत बस्ने गर्दथिन् । अत्यन्तै सुन्दरी पार्वतीसँग विष्णुले विवाह गर्न प्रस्ताव गर्दा हिमालय पर्वत राजी भएपछि पार्वतीले थाहा पाइन् र उनले साथीहरूसँग वेदना पोखिन् । साथीहरूले उनलाई कसैले थाहा नपाउने गरी घरबाट भगाइ जङ्गलतिर लगेर राखे । अनि पार्वतीले एकान्तमा बसेर शिवको ध्यान गर्न थालिन् ।
एकदिन शिव प्रकट भई तिम्रो मनकामना पूरा हुनेछ ‘तथास्तु’ भन्ने वरदान दिई अन्तरध्यान भए र पछि पार्वतीको विवाह उनै शिवसँग भएको थियो । यसरी शिवजी प्रकट भई पार्वतीलाई आशिर्वाद दिएको दिनको प्रसङ्गमा जोडिएको दिनलाई हरितालिका तीज भन्न थालियो र विवाहितले श्रीमान्को सुख शान्तिका लागि र अविवाहिताले असल श्रीमान् पाउनका लागि तीजको व्रत बस्न थालेको कथन छ ।
३. तेस्रो दिन (गणेश चतुर्थी) : यो दिन पनि शिवपार्वतीकै कथासँग जोडिएको छ । तीजको अर्को दिन पर्ने पर्व गणेश चतुर्थी हो । यो दिनलाई भगवान गणेशको जन्म भएको पवित्र दिन भनेर मानिन्छ । पार्वतीले गर्भधारण र प्रसव व्यथा बिना पुत्रलाभ गर्ने चाहना राखेपछि शिवको आशिर्वाद पाएर गर्भाधारण र प्रसव व्यथा बिना नै भगवान गणेशको जन्म भएको विश्वास छ । यसरी गणेश जन्मिएको दिनलाई पवित्र दिन मानी महिलाहरूले तीजको दोस्रो दिन पनि व्रत बसी पूजाआजा गर्ने प्रचलन छ ।
४. चौथो दिन (ऋषिपञ्चमी) : तीजको अन्तिम दिन पनि अर्को महत्वपूर्ण पर्व पर्दछ । यो ऋषिपञ्चमीका दिनमा पनि महिलाहरूले उपवास बसेर सप्तऋषिको पूजाआजा गरी नाचगानका साथ मनाउँछन् । बिहान शुभ बह्ममुहूर्तमा उठी स्नान गर्ने, अपमार्ग सफा गर्ने, दतिवन टोक्ने र पञ्चगव्य खाई शुद्ध भएर जमदग्नी, भारद्वाज, विश्वामित्र, कश्यप, गौतम, अत्री र बशिष्ठ नाम गरेका सप्तऋषिहरूको पूजाआजा गर्दछन् ।
अनि नाचगानका साथ त्यो दिनको रात्रिपश्चात् हरितालिका तीज पर्व समापन हुन्छ । यसरी महिलाहरूको महत्वपूर्ण पवित्र पर्व हरितालिका तीज खानपिन, रमाइलो, भेटघाट, नाचगान, दुःखसुखको साटासाट गर्ने दिनको रुपमा सदियौंदेखि नेपाली समाजमा मनाउने गरिन्छ ।
अन्तमा, तीज पर्वलाई धार्मिक र पौराणिक चालचलनअनुसार मनाईंदै आएको परिप्रेच्छमा यसलाई विकृतिको पर्वका रुपमा चित्रण हुन नदिन सबै सचेत हुनु जरुरी छ । हामीले धर्म, संस्कृति र प्रचलनको संरक्षण गर्नुपर्छ र मात्र हामी नेपाली भएर विश्वमा चिनिन सक्नेछौं । तर तीज मात्र होइन अन्य चाडपर्वहरू मान्ने क्रममा पनि यस्तै विकृति र पश्चिमा संस्कृतिले जरा गाड्न थालेको छ ।
यसलाई सकेसम्म कम गर्दै लैजाने र भड्कावपूर्ण चाडपर्व मान्ने होइन कि चाडपर्वलाई सरल, घाँटी हेरेर हाड निल्न सकिने गरी र मितव्ययी समेत बनाउन जरुरी छ । हरितालिका तीज २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई शुभकामना ।
-लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक, जीवनशैली व्यवस्थापनमा विद्यावारिधि तथा मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीका प्रध्यापक हुन् ।