अर्को वर्ष हुने आईसीसी टी२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ।
नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।
नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो ।
ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
नेपालले आइतबार युएइलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो । नेपालले भोलि सामोवासँग अन्तिम खेल खेल्ने छ । उक्त खेल जितेमा नेपालले उपाधि कब्जा गर्ने छ ।