प्रतिनिधिसभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सुनुवाइ

काठमाडौं, कात्तिक १२ गते । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ  हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल र आयुष बडाललगायतले सुशीला कार्कीको नियुक्ति बदर र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दिएका थिए।

भदौ २३ र २४ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमनत्री नियुक्त गरेका थिए । प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम राष्ट्रपति पौडेल​ले भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गरेका थिए। उनले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मितिसमेत तोकेका थिए।