लगातारको झरीले हरायो एकादशी मेलाको रौनक

नवलपुर, कात्तिक १५ गते । लगातार तीनदेखि परिरहेको झरीका कारण नवलपुरका विभिन्न स्थानमा लाग्ने एकादशी मेला प्रभावित भएको छ ।

उल्लेख्य संख्यामा भक्तजनहरुको भिड लाग्ने गरेको कावासोती–११ को पिठौली र गड्गडीघाट, कावासोती–१५ को गुन्द्रही र बाणखोलाको संगमस्थल, देवचुलीको केउरेनीस्थित नारायाणी नदी किनार र बौदीकालिको डेढगाउँमा रहेको बालिघाटनमा यो वर्ष भक्तजनको संख्यामा कमी आएको हो ।

वर्षाका कारण स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती रहने कार्यक्रमहरु पनि प्रभावित भएका छ्न ।

तरुल, सखरखण्ड, सुन्तला, थारु जातिका चिचर र माछाका परिकार जस्ता स्थाीनय खाद्यसामाग्री बेचबिखन हुने मेलामा गत वर्ष जस्तो रौनक नदेखिएको व्यापारीहरुले बताएका छन् । मेलामा सुन्तलाको व्यापार बढी हुने अपेक्षाले टिपिएका सुन्तला बिक्रिमा ह्रास आउने देखिएको बौदिकालीका सुन्तला व्यापारी रिमबहादुर थापाले बताए ।

जिल्लाको विभिन्न स्थानमा नारायणी नदि किनारमा लागेका मेलामा तुलसी विवाहा, तोरण तार्ने जस्ता धार्मीक अनुष्ठानहरु पनि आयोजना गरिएका पर्वत कावासोती सम्पर्क समाजका नगर संयोजक मित्रलाल न्यौपानेले बताए ।

वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई ठूली एकादशी पनि भनिन्छ । एकादशीका दिन नारायणी नदिमा स्नान गर्नाले पुण्य मिल्ने जन विस्वास रहेको पण्डित रिमप्रसाद आचार्यले बताए ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ ।

भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ ।