माघे औंसी मनाउन नवलपुरको त्रिवेणीधाममा नेपाल र भारतका भक्तजनको घुँइचो (फोटोफिचर)

नवलपुर, माघ ४ गते । माघे औंसीका अवसरमा नवलपुरको त्रिवेणीधाममा भक्तजनको घुँइचो लागेको छ । माघे औंसी पर्व मनाउन नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका हुन । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्ष दिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । माघे औंसीको अघिल्लो दिन शनिबारदेखि नै यहाँ मेला लागेको छ ।

भारतको बिहार, उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानबाट भक्तजन यहा स्नान गर्न र पुजापाठ गर्न आउने गर्छन् । त्रिवेणीधाममा रहेका दर्जनौ मठमन्दिरमा भक्तजनले रातभर भजनकिर्तन गरेर रात कटाएका गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसालले जानकारी दिए ।

त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार माघे औंसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरु समेत आउने जनविश्वास रहेकाले यो औंसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्छ ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ भएका कारण पनि औंसीका अवसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ । स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मीकी ऋषिको तपोभूमी, लवकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल पवेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो ।

रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम मानिन्छ । भगवान मुक्तीनाथको चरणपादुका स्थल पनि भएकाले यसको ठुलो धार्मीक महत्व रहेको प्रपन्नाचार्यले बताए । हात्ति र गोहिको लडाइमा भगवान नारायणले अबतार लिएको स्थान गजेन्द्रमोक्ष धाम मानिन्छ ।