नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने

नवलपुर, माघ २६ गते । नवलपुरका सम्पूर्ण विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई आगामी फागुन १ गतेदेखि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयलेसोमबार जिल्लाका सरोकारवाला निकायसँग छलफल गरी यस्तो जानकारी दिएको हो ।

अन्य जिल्लामा आजदेखि नै यो अभियान सञ्चालन भएको भए पनि नवलपुरमा भने फागुन १ गतेदेखि मात्र खोप अभियान सञ्चालन गरिने भएको हो । जनस्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईँले फागुन १ गतेदेखि जिल्लाका आठवटै पालिका भित्रका सामुदायिक र नीजि सबै विद्यालयमा पुगेर निःशुल्क एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उनले कक्षा ६ मा पढ्ने सबै र अघिल्लो पटक छुटेकालायृ विद्यालयमै पुगेर खोप लगाइने बताए ।

यो अभियानमा जिल्ला भरिका विद्यालय जाने तीन हजार ५६५ जना बालिका र विद्यालय नजाने ३० जनालाई खोप लगाइने चापागाईंले जानकारी दिए । एक हप्ता भित्र खोप लगाएर सकिने भए पनि बिदाहर परेकाले फागुन १३ गतेसम्म सकिने उनको भनाइ छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप महिनावारी र यौन सम्पर्क नहुँदै लगाएमा बढी प्रभावकारी हुने बताइएको छ ।