नवलपुर, फागुन ९ गते । राधा क्यान्सर सचेतना फाउण्डेसनले स्थापना गरेको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार गोरखा पत्रका संवाददाता सरोज ढुंगेललाई प्रदान गरिएको छ । नवलपुरको कावासोती नगरपालिका–२ मा शनिवार विशेष कार्यक्रम आयोजना गरी ढुंगेललाई नगद २० हजार रुपियाँ तथा प्रमाण पत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि परिवार कल्याण महाशाखा, खोप शाखाका प्रमुख डा अभियान गौतमले पुरस्कार वितरण गर्दै पछिल्लो समय नेपालमा मात्र नभएर विश्वमै क्यान्सर जस्ता नसर्ने रोग भयावह बन्दै गएको बताए । उनले क्यान्सरको रोग दर बढ्दै गएको भन्दै संक्रामक रोगको मृत्यु दरभन्दा नसर्ने रोगको दर बढ्दै गएर दैनिक १० जनाको मृत्यु हुने गरेको बताए ।
समयमै पहिचान गरेर उपचार गर्न सकेमा क्यान्सर पूर्ण रुपमा निको हुन सक्ने भएकाले सुरुमै थाहा पाउनका लागि सचेतना कार्यक्रममा जोड दिनुपर्ने उनको भनाइ थियो । पुरस्कार ग्रहण गर्दै पत्रकार ढुंगेलले यो सम्मानले स्वास्थ्य क्षेत्र त्यसमा पनि क्यान्सर जस्ता नसर्ने रोगका बारेमा कलम चलाउन थप हौसला मिलेको बताए ।
विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गते स्तन क्यान्सरका कारणले निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आउनु परेको उहाँका बुवा शुभराज शर्मा बस्यालले बताए ।
राधाले आफूलाई क्यान्सर लागेको थाहा पाएपछि समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा र रेडियो मध्यविन्दु एफ एमबाट सचेतना अभियान चलाएकी थिइन् । राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।









