नवलपुर, फागुन १९ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका कर्मचारीहरु मतदान स्थल निर्माण र व्यवस्थापनमा जुटेका छन् । सोमबार नियुक्ति पत्र र निर्वाचना सामग्रीसहित निर्वाचन केन्द्रमा पुगेका कर्मचारहरु बिहानैदेखि मतदान स्थल निर्माण र व्यवस्थापनमा जुटेका हुन् ।
नवलपुरका सबै मतदान केन्द्रमा सोमबार नै निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारीहरु पुसिकेका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए । कावासोतीको शिवमावि मतदान केन्द्रका प्रमुख नारायण तिमिल्सिनाले बिहानै सर्वदलीय बैठक सम्पन्न गरेर बुथ निर्माणमा लागेको बताए । भोलि बेलुकासम्म सबै तयारी सकेर मुचुल्का सहितको सूचना टाँस गर्ने उनको भनाइ छ ।
सर्वदलीय बैठकमा निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन सबै दलले प्रतिवद्धता जनाएका उनले बताए । निर्वाचनलाई सफल बनाउन एक हजार आठ सय ६९ कर्मचारी खटिएका छन् भने दुई सय ५६ जना कर्मचारी जगेडामा राखिएको छ । त्यस्तै तीन हजारभन्दा बढी शसस्त्र, जनपथ र निर्वाचन प्रहरी तथा पाँच सय नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए ।
प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नं. १ का लागि ५८ वटा र क्षेत्र नं. २ का लागि ५६ वटा गरी १ सय १४ वटा निर्वाचन स्थल र तीन सय ११ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन अधिकारी भुसालले जानकारी दिए । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३७ हजार ८१ मतदाता र २ मा १ लाख ३१ हजार ४ सय ४५ जना मतदाता रहेका छन् । दुई सिटका लागि ३४ जना उम्मेदवार प्रतिश्पर्धामा छन् ।









