त्रिवेणी–दुम्किबास सडकमा प्रधानमन्त्रीको चासो

नवलपुर, बैशाख ४ गते । गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को काम तत्काल अगाडि बढ्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले विशेष चासो दिनु भएपछि उहाँको सचिवालयको समन्वयमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाइने भएको नवलपुर –२ का प्रतिनिधिसभा सदस्य मनिष खनालले जानकारी दिए ।

सडक विभागले ईआइएको अनुमतिपत्र पाएको भए पनि काम अघि बढेको थिएन, प्रधानमन्त्रीको विशेष चासोपछि काम अघि बढने तय भएको सांसद खनालले बताए ।

‘‘हामीले निरन्तर प्रधानमन्त्रीज्यूलाई आग्रह गरिरहेका थियो, सोहीअनुसार उहाँको सचिवालयले ईआएको काम अघि बढाउन निर्देशन दिएको छ’’ सांसद खनालले भने, “सायद चार–पाँच महिनामा ईआइएको काम सकिन्छ होला त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’’

आठ किलोमिटर बाटो नछिचोलिदा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा ६ र ७ का वासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशीक अस्पताल जानका लागि ६० किलोमिटर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्गअन्तर्गत त्रिवेणी–दुम्किवास सडकको आठ किमी सडक बन्ने हो भने ६० किमीको सडकयात्रा २० किमिमा छोटिन्छ ।

२०६२ सालदेखि सुरु गरिएको यो सडकखण्ड २०६३ सालमा ट्रयाक पूरा भएको थियो । २० किलोमिटरको उक्त सडक खण्डमा २०६३ सालको फागुनमा झण्डै एक हप्तासम्म सामान्य सवारी साधन पनि चलेका थिए ।

थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन पनि चल्न सकेनन् र बाटो अहिले पूर्ण रुपमा बन्द छ । जसलेगर्दा अहिले यी दुई वडाका वासिन्दा लुम्बिनी प्रदेशको नवलपरासी हुँदै दाउन्नेको अवरोध छिचोल्दै घण्टौं लगाएर पालिका र जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता छ ।