नवलपुर, बैशाख ६ गते । गैँडा संरक्षणका लागि जनचेतना जगाउने र खेलको माध्यममार्फत नवलपुरलाई चिनाउने उद्देश्यले गरिँदै आएको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी बैशाख १२ गतेदेखि हुने भएको छ । प्रतियोगिता मध्यविन्दु नगरपालिका–२ कोल्हुवाको राईनो रङ्गशालामा सञ्चालन हुनेछ ।
आईतबार पत्रकार सम्मेलन गरी आगामी बैशाख १२ गतेदेखि प्रतियोगिता संचालन गर्न लागिएको राईनो क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । एकसिंगे गैँडाको संरक्षण र वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले क्लबले प्रतियोगिता आयोजना गर्दै आइरहेको भण्डारीको भनाइ छ ।
गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २४ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा भारतको एभिएफसी कोलकतासहित विभागीय टिम, राष्ट्रिय स्तरका क्लव सहित १२ वटा टीमको सहभागीता रहने प्रतियोगिताका प्रचार प्रसार समितिका संयोजक विष्णु अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको बिजेता टीमले नगद आठ लाख रुपियाँ, ट्रफी र प्रमाण पत्र तथा उपविजेताले नगद चार लाख, ट्रफी र प्रमाण पत्र पाउने भण्डारीले बताए । प्रतियोगिता सम्पन्न गर्न ८७ लाख ५१ हजार खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।
साथै प्रतियोगितामा दर्शको उल्लेख्य सहभागीता गराउन गोल्डेन गेट पासको व्यवस्था गरिएको र उक्त गेटपास खरिद गर्नेमध्य तिन जनालाई लक्कि ड्र मार्फत पुरस्कारको समेत व्यवस्था गरीएको आयोजकले जनाएको छ ।
कार्यक्रममा खेलकुद् विकास समिति गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले प्रतियोगिता सफल बनाउन स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग रहने बताए । प्रतियोगिताको माध्यमबाट एकसिङ्गे गैँडाको प्रचार प्रसार गरी आन्तरीक एवम् वाह्य पर्यटक भित्राउन सकिने हँुदा संरक्षणमा सहभागीता र सचेतनाको साथै आर्थिक उन्नती समेत गर्न सकिने उनको भनाइ छ ।









