नारायणी नदी र मध्यवर्ती क्षेत्रलाई प्लास्टिकमुक्त बनाउने अभियान सुरु (भिडियोसहित)

बोमलाल गिरी
नवलपुर, बैशाख ६ गते । नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई फोहोरमैला र प्लास्टिकमुक्त बनाउने उद्देश्यले सरसफाई गरिएको छ । नवलपुरको देवचुली नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक तथा मध्यवर्ती वनहरु, होटल होमस्टे पर्यटन विकास समिति, नेपाल प्रहरी, नेपाली सेना लगायतसँग सहकार्य गरी सरसफाई गरेको हो ।

३१औं वन्यजन्तु सप्ताहको अवसर पारेर देवचुली–१७ को पिप्रहर क्षेत्रमा नदीनाला र वन जंगललाई प्लास्टिक र फोहोरमैलामुक्त गराउने उद्देश्यले सरसफाई गरिएको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । प्लास्टिकले मानव जीवन र वन्यजन्तुलाई प्रत्यक्ष नकारात्मक असर गर्ने गरेकोले आइन्दा जथाभावि फोहोर फाल्न हुन्न भन्ने सन्देश पनि दिन खोजिएको न्यौपानेले बताए ।

सरसफाईमा झण्डै एकसय ५० जनाको सहभागिता रहेको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख, वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले वन्यजत्नु र उनीहरुको वासस्थानमा सबैभन्दा बढी प्लास्टिकजन्य फोहोर रहेकाले त्यसले दिर्घकालसम्म पार्न सक्ने असरलाई ध्यानमा राखेर सरसफाई अभियान चलाइएको बताउ । उनले पहिलो चरणमा भइरहेको फोहोर व्यवस्थापन गर्ने र आगामी दिनमा फोहोर हुनै नदिने गरी कार्यक्रम सञ्चालन गरिने बताए ।

देवचुलीमा रहेको सिजि उद्योगको भुसे ब्वोइलरबाट निस्केको धुलो र खरानीले वातावरण प्रदूषण गरेको र वियर कारखानाबाट निस्केको केमिकल मिश्रित पानीले नारायणी नदी नै प्रदुषित बनाएको स्थानीयको भनाइ छ । केमिकल परीक्षणमा पनि नारायणीमा उद्योगको फोहोर पानी भेटिएको देखिएकाले उद्योगलाई सजकता अपनाउन पनि डा पन्तले आग्रह गरे ।