इरान युद्ध तत्काल नटुंगिने संकेतः शान्ति प्रस्तावमा ट्रम्प असन्तुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको पछिल्लो शान्ति प्रस्तावप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै तत्काल युद्ध अन्त्य हुने सम्भावनालाई नकारेका छन्। तेहरानको प्रस्तावमा रहेका सर्तहरू आफूलाई स्वीकार्य नभएको स्पष्ट पार्दै ट्रम्पले भने, ‘तिनीहरू म सहमत हुन नसक्ने कुराहरू मागिरहेका छन्।’

राष्ट्रपति ट्रम्पले द्वन्द्वको कुनैपनि प्रारम्भिक अन्त्यले भविष्यमा थप जटिलता निम्त्याउन सक्ने बताए। इरानले होर्मुजको जलमार्ग पार गर्ने जहाजहरूबाट टोल वा अन्य शुल्क उठाउने विषयमा पनि वासिङ्टनले कडा प्रतिबन्ध लगाउनसक्ने जोखिम रहेको चेतावनी दिइएको छ।

वर्तमान परिस्थितिमा इरानको आणविक कार्यक्रम राष्ट्रपति ट्रम्पका लागि वार्ताको सबैभन्दा आधारभूत र संवेदनशील बिन्दु बनेको छ। राष्ट्रपति ट्रम्प आफ्ना केही रेड लाइनबारे पूर्णरूपमा अडिग देखिएका छन्, यद्यपि ती रेखाहरू सार्वजनिक रूपमा स्पष्ट पारिएका छैनन्।

तर, वासिङ्टनको एउटा प्रमुख अडान भनेको इरानले कुनै पनि हालतमा र कुनैपनि समयमा आणविक हतियार प्राप्त नगर्ने प्रतिबद्धता जनाउनुपर्ने नै हो। यो अडान केवल केही समयका लागि हतियार निर्माण रोक्ने स्थगनमात्र नभएर सधैँका लागि हुनुपर्ने ट्रम्पको चाहना छ। इरानबाट उनी अरू के अपेक्षा गरिरहेका छन् भन्ने कुरा अझै अस्पष्ट छ, किनभने उनले आफ्नो मागको कुनै सार्वजनिक सूची प्रस्तुत गरेका छैनन्।

इरानको सैन्य क्षमताका विषयमा बोल्दै ट्रम्पले अमेरिकी सेनाले इरानी सेनालाई ध्वस्त पारेको दाबी दोहो¥याएका छन्। इरानसँगको वार्ताको वर्तमान अवस्थाप्रति असन्तोष प्रकट गर्दै उनले भने, ‘म खुसी छैन।’

कतिपयले अमेरिकाले इरानसँगको युद्ध जितिरहेको छैन भनी गरिरहेको टिप्पणीलाई ट्रम्पले देशद्रोहको संज्ञा दिए। शुक्रबार फ्लोरिडा प्रस्थान गर्नुअघि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले इरानसँग कुनैपनि सम्झौता नगर्नु नै देशका लागि हितकर हुन सक्ने सङ्केत दिए। उनले भने, ‘सत्य भन्नुपर्दा, सायद हामी सम्झौता नगर्नु नै राम्रो हुन्छ। के तपाईं सत्य जान्न चाहनुहुन्छ ? किनभने हामी यो कुरालाई जारी राख्न सक्दैनौं। यो धेरै लामो समयदेखि चलिरहेको छ।’