नवलपुर, जेठ १३ गते । निधारमा चन्दनको टीका, गलामा रुद्राक्षको माला, शिरमा ढाका टोपी लगाउनु भएका नवलपुरको मध्यविन्दु नगरपालिका–११ का बुद्धिसागर आचार्यको उमेर ९३ वर्ष पुगिसकेको छ । छाला चाउरिए पनि ओंठमा मुस्कार जवानीको जस्तै छ ।
छोरा बुहारी, नाति नातिना काठमाडौंमा बसोवास गरेपछि घरमा छोरीले उहाँहरुको रेखदेख गरिरहेकी छिन् । दिनभरी घरमा बसिरहन पनि दिक्क लाग्छ । त्यसैले दिउँसोको समय कटाउने सजिलो माध्यम बनेको घर नजिकै रहेको सिद्धेश्वर महादेव मन्दिर ।
आचाय जस्तै टोलभरीका १५/२० जना जेष्ठ नागरिक बिहानको खाना खाइसकेपछि यो मन्दिरमा भेला हुन्छन् अनि सुरु हुन्छ भजनकृतन । कसैले मादल र हार्मोनियम बजाउने, कसैले झ्याली, मजुरा र खैंजडी त कसैले डम्फु बजाउँछन् । बाँकीले थपपडी बजाउँदै तालमा लय मिलाउँछन् ।
यहाँका जेष्ठ नागरिकले कृतन मण्डली नै बनाएका छन् । १० वर्षदेखि कृतन मण्डली बनाएर भजनकृतन गर्न थालेको अर्का स्थानीय जेष्ठ नागरिक हिमलाल वषिष्ठले बताए । उनीहरुको सम्मान स्वरुप नगरपालिकाले बाद्यबादनका सामान पनि उपलब्ध गराएको छ । भजनकृतन पनि हुने समय बिताउन पनि सजिलो हुने भएकाले मन्दिरमा आउने गरेको कृतन मण्डलीका संयोजक ७१ वर्षीय काशिराम भण्डारीले बताए ।
मन्दिरमा आएर भजनकृतन गर्दा छुट्टै आनन्द आउने ८२ वर्षीया ज्ञानकुमारी हमालको भनाइ छ । ‘‘उमेर बित्दै जाँदा बेकामी भइदो रहेछ, घर बसिरहँदा ऐया ऐयाभन्दै कोल्टे फेर्दै सुत्यो, खायो, रोग बढायो,’’ हमालले भनिन्, ‘‘यहाँ आउँदा सबै दावँली भेटिन्छन्, आफू जस्तै अरु भेट्दा मनका तिर्सना मेटिन्छन्, एउटाको मुख अर्काले देख्छ, ठट्टा हुन्छन्, हाँसिन्छ, समय यत्तिकै बित्दो रहेछ ।’’
नगरपालिकाले सबै वडाका जेष्ठ नागरिकलाई समय व्यतित गर्न सजिलो होस् भनेर धार्मिक पुसतकहरु र बाद्यवादनका सामान उपलब्ध गराएको नगरप्रमुख भीमलाल अधिकारीले बताए । दिउँसोको समयमा घर परिवारमा कोही नहुनेहरुका लागि समय कटाउन सजिलो होस् भनेर नगरदेखि वडासम्म जेष्ठ नागरिक मिलन केन्द्र बनाई पुस्तक र बाद्यवादनका सामान उपलब्ध गराएको उनको भनाइ छ ।
‘‘उहाँहरु दिनभरी मन्दिर, चौपारोमा जम्मा हुनुहुन्छ, गफ गर्नुहुन्छ, पुस्तक पढ्ने, भजन गाउने गर्नुहुन्छ, बेलुका घर गएर दुईवटा रोटी बढि खानुहुन्छ, यसले उहाँहरलाई स्वस्थ बनाउँछ,’’ अधिकारीले भने ।
हेर्नुहोस भिडियो








