नवलपुरमा भएका दुर्घटनामा एकको मृत्यु, ९ जना घाइते

नवलपुर, जेठ १४ गते । नवलपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१७ झरहीखोलामा नारायणघाटबाट कावसोती तर्फ जाँदै गरेको बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरित दिशामा गुडिरहेको लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार ९६१८ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका–९ का २६ को वर्षिय दिनेश गिरीको उपचारको क्रममा देवचुली नगर अस्पताल दुम्कौलीमा मृत्यु भएको हो ।

दुर्घटनामा सोही मोटरसाइकल पछाडि सवार रामेछापको मन्थलि नगरपालिका–७ का २६ वर्षीय डम्बर बहादुर माझी, ९९९१ नम्बरको मोटरसाइकालका चालक रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ का ३४ वर्षीय रोहन पन्थी र पछाडी सवार तिलोत्तमा–१६ का २५ वर्षीय अमृत आचार्य घाइते हुनुभएको पण्डितले जानकारी दिए ।

त्यस्तै विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ महिला घाइते भएका छन् । भारतबाट काठमाडौंतर्फ आउँदै गरेको ययुपी ६५ डीटी २७८० नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए । दुर्घटनामा बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका हुन् ।

घाइते हुनेहरुमा भारत महाराष्ट्रका ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुशिला जिसिमुख, ५८ वर्षीया संगिता बिसिनेत, ४७ वर्षीया भासुली कादम, ४८ वर्षीया रेखा टाउरे र ४५ वर्षीया योगिता बलेरौ घाइते भएको पण्डितले जानकारी दिए ।

घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबास लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ । बसका चालक भारत आजमगढ जिल्ला निवासी ४९ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।