शिक्षण पेशा छोडेर पशुपालन, मासिक साढे दुई लाख आम्दानी

बोमलाल गिरी

नवलपुर, असोज ४ गते । स्थायी आम्दानी र सामाजिक प्रतिष्ठा भएको शिक्षण पेशा छोडेर कृषि तथा पशुपालनमा लाग्नु धेरैका लागि सहज निर्णय होइन ।

तर कावासोती नगरपालिका–६ का गंगाधर न्यौपानेले भने शिक्षण पेशालाई त्यागेर गाई–भैँसी पालनलाई आफ्नो मुख्य व्यवसाय बनाएका छन् । अहिले उनी पशुपालनसँगै डेरी सञ्चालन गरेर मासिक करिब साढे दुई लाख रुपियाँ नाफा कमाउन सफल भएका छन्।

२०४५ सालमा पर्वतमा जन्मिएका न्यौपानेले २०६८ सालमा आफूले अध्ययन गरेको पर्वतस्थित श्री सगरमाथा माध्यमिक विद्यालयमा संस्थापक गणित शिक्षकका रूपमा अध्यापन सुरु गरे। २०७१ सालमा कावासोती बसाइँ सरेपछि पनि उनले शिक्षण पेशालाई निरन्तरता दिए ।

२०७६ सालमा ‘गौरादेवी नवीन कृषि तथा पशुपालन फर्म’ दर्ता गरेर पशुपालन व्यवसाय सुरु गरेका न्यौपानेले सुरुमा आर्थिक अभावका कारण व्यवस्थित गोठ बनाउन नसक्दा सीमित ठाउँमा भैँसी पाल्नुपर्ने अवस्था रहेको बताउँछन् ।

‘‘गोठमा पालैपालो एउटा भैँसी बस्दा अर्को उठ्नुपर्ने र अर्को बस्दा फेरि अर्को उठ्नुपर्ने अवस्था थियो,’’ न्यौपानेले भने, ‘‘४५ दिन आफैँ खटिएर आधुनिक गोठ निर्माण गरेपछि अहिले सहज भएको छ ।’’

गाई–भैँसी थपिदै गएपछि गोठ व्यवस्थापन, दाना–पानी, सरसफाइ र स्याहार सुसारका लागि थप जनशक्ति आवश्यक पर्न थाल्यो । सुरुमा श्रीमती एक्लैले सम्हाल्दै आएको काम विस्तार भएपछि उहाँलाई शिक्षण पेशा र पशुपालनमध्ये एउटा रोज्नुपर्ने अवस्था आयो ।

शिक्षण पेशा छोडेर पूर्ण रूपमा पशुपालनमा केन्द्रित भएका न्यौपाने कावासोती नगरपालिकाले गरेको नमुना किसान छनोटमा उनको फर्म पनि छनोट भएपछि व्यवसाय विस्तारमा थप हौसला मिल्यो । त्यसपछि उनले पशुपालनमा मात्र सीमित नरही डेरी उद्योगसमेत सञ्चालनमा ल्याए ।

बिहान ३ बजेदेखि राति ११ बजेसम्म खटिनुपर्ने र व्यक्तिगत कामका लागि समेत फर्म छोडेर जान नसकिने अवस्था रहेको उनी बताउँछन् ।

उनले करिब १५ कट्ठा जमिनमा घाँस खेती गरेका छन् । गाई–भैँसी बिरामी पर्दा तत्काल औषधी उपचार गर्नुपर्ने भएकाले पशुपालनमा निरन्तर निगरानी आवश्यक पर्ने उनको अनुभव छ ।

अधिकांश कृषककहाँ निश्चित समयमा मात्र दुध उत्पादन बढी हुने गरेको उनको भनाइ छ । तर न्यौपानेले भने वर्षभरि दुध उत्पादन निरन्तर भइरहने गरी भैँसी ब्याउने समय तालिका व्यवस्थापन गरेको बताउँछन् ।

“साउनमा दुध उत्पादन बढी हुन्छ । धेरै किसानको अफ सिजनमा दुध उत्पादन घट्छ । मकहाँ भने बाह्रै महिना दुध अभाव हुँदैन,” उनले भने । उत्पादनलाई बजारको मागअनुसार व्यवस्थापन गर्न सके दुध बिक्री गर्न कठिनाइ नहुने उनको अनुभव छ ।

करिब ३५ लाख रुपैया लगानीबाट सुरु गरिएको व्यवसायबाट अहिले न्यौपानेले राम्रो आम्दानी गरिरहेका छन् । दूध बिक्रीबाट भएको आम्दानीकै भरमा आफूले दुईतले घर बनाएको र हाल मासिक करिब साढे दुई लाख रुपियाँ आम्दानी हुने उनले बताए ।

शिक्षण पेशाबाट कृषि तथा पशुपालन व्यवसायमा रमाएका न्यौपानेको यात्रा मेहनत, व्यवस्थापन र निरन्तरताले सफल बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ । चुनौतीपूर्ण सुरुवातलाई अवसरमा बदल्दै उनले अहिले पशुपालनलाई आफ्नो आयआर्जनको बलियो आधार बनाउन सफल भएका छन् ।