नवलपुर, असोज २ गते । भदौ १० गतेको विध्वंसकारी भोटेकोशी बाढीमा परी वेपत्ता भएका नवलपुरको मध्यविन्दुका १२ जनाको कुशको शव बनाई सामुहिक अन्त्येष्टि गरिएको छ । २४ दिन बितिसक्दा पनि शास न लाश कुनै पत्ता नलागेपछि कुशको शव बनाएर नारायणी नदी किनारमा शुक्रबार सामुहिक अन्त्येष्टि गरिएको हो ।
भोटेकोशी बाढीमा परी नवलपुरका २० जना वेपत्ता भएकोमा मध्यविन्दु नगरपालिकामा मात्र १२ जना थिए । वडा नं. ५ बाघखोरका ९ जना र वडा नं. १ सेतापानीका ३ जना बेपत्ता भएका हुन् । यति लामो समयसम्म पनि कुनै अत्तोपत्तो नलागेपछि कुशको शव बनाई अन्त्येष्टि गर्नुको विकल्प नरहेको वेपत्ता रहनु भएका नुम नारायण महतोकी श्रीमती चुनकुमारी महतोले बताइन् ।
मध्यविन्दु–१ सेतापानीका हेम बहादुर चौधरी, हुसन बहादुर थारु र कालिराम महतो थारु वेपत्ता भएका भएका थिए । त्यस्तै मध्यविन्दु–५ बाघखोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकदेव महतो, नुम नारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु वेपत्ता भएका थिए । उनीहरु सबै जना रसुवागढीको टिमुरेस्थित शेर्पा हाइड्रो पावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत थिए ।
नवलपुरबाट २० जना वेपत्ता भएकामा मध्यविन्दु नगरपालिकाका १२, कावासोतीका ३, विनयी त्रिवेणीका ३ तथा गैँडाकोट र देवचुली नगरपालिकाका एक एक जना वेपक्ताको सूचिमा रहेका छन् ।









