नवलपुर, असोज १ गते । आज असोज १ गते, भगवान विश्वकर्माको जन्म दिन । आज देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ गरिँदैछ ।
आज उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् । यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई पूजा गर्ने गरिन्छ ।
यसै अवसरमा नवलपुरको दाउन्नेमा रहेको विश्वकर्मा बाबाको मन्दिरमा पूजा गर्नेहरुको भिड लागेको छ । पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारी चालक तथा नवलपुर आसपासबाट यहाँ पूजा गर्न आउनेको बिहानैदेखि भिड लागेको मन्दिरका पुजारी सन्तोष थापाले जानकारी दिए ।
२०४४ सालमा बनेको यो मन्दिरमा यो वर्ष अहिलेसम्मकै धेरै भक्तजन आएको उहाँको भनाई छ । ‘‘बाटो खराब भएकाले विगतका वर्षहरुमा भक्तजन धेरै आउनु भएको थिएन, पुजारी थापाले भने, ‘‘यो वर्षदेखि नारायणघाट–बुटबल सडक विस्तार भएर यात्रा सहज भएकाले भक्तजन धेरै आउनु भएको छ ।’’
पहाड छिचोलेर बनाइएको साँघुरो र घुमाउरो बाटोका कारण अत्याधिक दुर्घटना हुने यस दाउन्ने खण्डमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरेर पूजाआजा गर्न थालेपछि दुर्घटनामा उल्लेख्य कमि आएको उनको भनाइ छ । सामान्य दुर्घटना भएपनि मानवीय क्षेती नभएको थापाले बताए ।
यो राजमार्ग भएर यात्रा गर्ने प्राय जसोले यहाँ गाडी रोकेर पूजा गरी गन्तब्यमा लाग्ने गरेका छन् । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बसका चालक राकेश क्षेत्रीले विश्वकर्मा बाबाको दिन यहाँ पूजा गरेर जाँदा मनमा शन्ति मिल्ने बताए ।
नवलपुरको विनयी त्रिवेणी–४ का जीवन चौधरी ट्रयाक्टर लगेर पूजा गरिरहनु भएको थियो । उहाँले विश्वकर्मा बाबाप्रति आस्था राख्ने भएकोले पूजा गर्न आएको र अहिलेसम्म राम्रै भएको प्रतिकृया दिए ।
हेर्नुहोस् भिडियो









