बोमलाल गिरी
नवलपुर, मंसिर ८ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–४ शंखदेवका वासिन्दाका लागि एक गाग्रो पानी लिन पहिले झण्डै डेढ घण्टा हिड्नु पथ्यो । पीउने पानी नै नभएको ठाउँमा सिंचाइका लागि त आकाशे पानीको भर पर्नुको विकल्प थिएन । पानीका स्रोत र घोल सुकिसकेका थिए । पानीका स्रोत नै सुकेपछि वन्यजन्तु र बोटबिरुवालाई समेत असर परेको थियो ।
पानीको अभाव झेलिरहेका यहाँका उपभोक्ता पानी संरक्षणका लागि जुटे । उनीहरूले जोल्टे पोखरी सामुदायिक वनभित्र पानी संरक्षण (रिचार्ज) पोखरी निर्माण गरे । जसले अहिले उनीहरुको जीवनशैली नै बदलिदिएको छ । घरघरमा पिउने पानीको धारा जडान भएका छन् । सिंचाईको सुविधा प्रयाप्त भएपछि व्यवशायिक तरकारी खेती गरेर यहाँका वासिन्दा आत्मनिर्भर बनेका छन ।
उनीहरूको यो प्रयासमा डब्लूडब्लूएफमार्फत सहमति संस्थाले प्रकृतिमा आधारित समाधान कार्यक्रमअन्तर्गत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । जोल्टे पोखरी सामुदायिक वनभित्र मात्रै साना–ठूला गरी १५ वटा पानी जम्मा हुने रिचार्ज पोखरी निर्माण गरिएका छन् । ती पोखरीमा वर्षाको र खोल्साको पानी संकलन गरिन्छ । माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गरेको दुई वर्षपछि तल्लो बस्तीमा हिउँदमा सुक्ने कुवामा समेत पानी आउन थालेको जोल्टे पोखरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष रुपा रानामगरले बताइन् ।
‘‘खानेपानीको सिरानमा संरक्षण पोखरी बनाएपछि मुहान बढेको छ । जस्तोसुकै खडेरीमा पनि पानीको अभाव हुँदैन । पहिले २०÷२२ घरधुरी हुँदा पनि पानीको अभाव थियो,’’ रानाले भनिन्, ‘‘अहिले २३३ घरधुरी हुँदा पनि पानीको अभाव छैन । चौबिसै घण्टा पानी आउँछ ।’’ प्रकृतिमा आधारित समाधान कार्यक्रमअन्तर्गत वनमा पोखरी निर्माण गरेको दुई वर्षपछि सुकेको मुहानमा पनि फेरि पानी आउन थालेको अध्यक्ष रानाले बताइन् ।
जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा रहेका सिमसार र तालतलैया सुक्दै जान थालेका छन् । मानव बस्ती आसपासका तालतलैया संरक्षणमा धेरैको चासो हुने गरे पनि वनभित्रका पानीका स्रोत संरक्षणमा भने खासै ध्यान दिएको पाइँदैन । यसले गर्दा पानी र आहारको खोजीमा वन्यजन्तु बस्ती पस्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ ।
यसलाई कम गर्ने उद्देश्यले गुन्द्रही ढकाहा सामुदायिक वन मध्यवर्ती समितिले वनभित्र वन्यजन्तुका लागि कृत्रिम ताल निर्माण गरेको छ । यसले जंगली जनावरलाई पानी पिउन र आहाल खेल्न सहज बनाउनुका साथै वरपरका पानीका स्रोत संरक्षणमा पनि टेवा पुगेको समितिका अध्यक्ष नरबहादुर महतोले बताए । अहिले नारायणी नदी पनि प्रदुषित भएका कारण थुप्रै प्रजातिका जिवजन्तुको संख्या घटेको उनको भनाइ छ ।
‘‘पानीका स्रोत संरक्षणबिना वनको अस्तित्व रहँदैन, त्यसैले वनमा बस्ने दुर्लभ पाटेबाघ, एक सिंगे गैँडा, चित्तल, बँदेल, घिस्रिने प्रजातिका जीवजन्तु, चराचुरुङ्गीलाई सफा पानी पिउनका लागि यो ताल निर्माण गरेका हौं,’’ महतोले भने, ‘‘सामुदायिक वन आफैंले ठूलो लगानीमा ताल बनाउन सक्ने अवस्था पनि थिएन, डब्लूडब्लूएफ र सहमति संस्थाको सहयोगमा पोखरी निर्माण भएको छ, जसले यो क्षेत्रमा जनावरको आवागमन बढेको छ । पर्यटकले पनि सहजै जनावर हेर्न पाएका छन् ।’’
घिस्रिने प्रजातिलाई लामो बाटो ओहोरदोहोर गर्न गाह्रो हुने भएकाले सोही क्षेत्रमै ताल बनाएर सहजता प्रदान गरेको महतोले बताए । ८ सय ९४ हेक्टर क्षेत्रफलमा फैलिएका यहाँका पाँचवटा सामुदायिक वनमा सिमसार व्यवस्थापन गरेको मध्यवर्ती समितिले जनाएको छ ।
सामुदायिक वन संरक्षणसँगै उपभोक्तालाई अर्गानिक खेती, माछापालन, बाख्रापालन, मौरीपालन र आफ्नो रुचिअनुसारका पेसा व्यवसाय गर्न प्राविधिक तथा आर्थिक सहयोग गरिएको प्रकृतिमा आधारित समाधान कार्यक्रमका संयोजक शिव सुवेदीले बताए ।
‘‘पानीका स्रोत संरक्षण गर्दा सिंचाइ गर्न सहज भयो । सिँचाइ भएपछि उपभोक्ताले विषादीरहित तरकारी उत्पादन गर्नुभएको छ,’ सुवेदीले भने । वन संरक्षणसँगै व्यावसायिक खेतीबाट आर्थिक आम्दानी हुन थालेपछि उपभोक्ता पानीका मुहान संरक्षणमा आफैं जागरुक हुन थालेका छन् ।









