दिगो र वौद्धिक भविष्यका लागि सौराहामा दुई दिने अन्तराष्ट्रिय प्राज्ञिक बहस हुँदै

नवलपुर, मंसिर ८ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त मध्यविन्दु बहुमुखी क्याम्पसले पहिलो अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । नवलपुर कावासोती–३ मा रहेको क्याम्पसले मंसिर ११ र १२ गते चितवनको सौराहामा दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

सम्मेलनले उच्च शिक्षा, नवप्रवर्तन र दिगो विकासका आयामहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने लक्ष्य राखेको क्याम्पस प्रमुख प्रा. गणेशमान गिरीले जानकारी दिए । सम्मेलनले दिगो र बौद्धिक भविष्य—जनता, व्यवसाय र समाजका लागि नवप्रवर्तनमार्फत उच्च शिक्षाको रूपान्तरण तय गरेको छ । सम्मेलनमा तीन प्राविधिक सत्रमा छलफल हुने क्याम्पसले जनाएको छ ।

पहिलो सत्रमा मंसिर १० गते नेपालसहित विभिन्न देशका ७ जना वक्ताले आफ्नो भनाइ राख्नेछन् । सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. महेन्द्र चालिसे र विश्व विद्यालय अनुदान आयेगका सहायक निर्देशक नारायण भण्डारी वक्ताको रुपमा रहने छन् ।

दोस्रो सत्रमा ‘सामुदायिक क्याम्पसहरूको भविष्यको पुनर्कल्पनाः उच्च शिक्षामा नवप्रवर्तन, अनुसन्धान र दिगोपना’ विषयमा विशेष प्यानल छलफल आयोजना गरिने कार्यतालिका रहेको छ ।

सम्मेलनका समानान्तर प्राविधिक सत्रहरूमा ६० वटा अनुसन्धानात्मक कार्यपत्रहरू र ९ वटा वक्तासहति ६९ वटा प्राज्ञिक प्रस्तुत हुने तालिका छ । जसमध्ये पहिलो दिन २० वटा र दोस्रो दिन ४० वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यस सम्मेलनमा ३१ भन्दा बढी उच्च शैक्षिक तथा प्राज्ञिक संस्थाहरू आबद्ध रहेका क्याम्पस प्रमुख गिरीले बताए ।