काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ विदेश पठाइने भएको छ । अन्तर्राष्ट्रिय सुविधा सम्पन्न ल्यावमा परीक्षका लागि अर्को हप्ता फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष पठाउन लागिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिएका हुन् ।
दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको हो । ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन्।
आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात संकलन तथा विज्ञसँग छलफल गरिसकेको छ। विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली भने प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ।
ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो। ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२) विमान पोखराको सेती नदीको खोँचमा दुर्घटना हुँदा ६८ यात्रु र चालक दलका सदस्य ४ जना गरी ७२ जनाको दुखद् निधन भएको थियो ।









