बोमलाल गिरी
नवलपुर, मंसिर १७ गते । तनहुँको भिमादमा जन्मेर चितवनको रापती नगरपालिका ८ मा स्थायी बसोवास भएका मनोजकुमार बिकको जीवन कहानी सुन्दा आँङै सिरिङ्ग हुन्छ । समाजमा व्याप्त जातीय विभेद, बर्गिय असमानता र कुरितिविरुद्ध परिवर्तन ल्याउन भन्दै उहाँ २०५८ सालमा १० कक्षामा पढ्दै गर्दा माओवादी जनयुद्धमा होमिए ।
रुकुमको खारा, म्याग्दीको बेनी लगायत दर्जनौं ठूला लडाईको अग्रपंक्तिामा उभिएका विक २०६२ चैत ८ गते चितवनको दारेचोकमा तत्कालिन शाही नेपाली सेनासँगको भिडन्तमा परि मरेर पनि बाँच्न सफल भए ।
‘‘दारेचोकमा सेनाको कमाण्डोसँग दुई घण्टा भिडन्त भयो । सेनाले टाउको र खुटामा चार राउण्ड गोली हान्यो र मर्यो भनेर फाल्यो, म साससमेत नफेरी मरेको वाहाना गरेर दुई घण्टा एक्लै जंगलमा पल्टिरहेँ,’’ पुराना दिन सम्झदै बिकले भने, ‘‘घर्सिदै केही पर एउटा गोठमा गएर ८ दिन बिताएँ, ८ दिनपछि पार्टी सम्पर्कमा आउँदा जताततै मेरो श्रद्धान्जली कार्याक्रम सम्पन्न भइसकेको रहेछ । मेरो पास कोर्ड पनि बनिसकेको रहेछ । म जिवितै देखेपछि सबै तिर खुशयिाली छायो । त्यती बेला १६ जना सहिद हुनु भयो म १७औं नम्बरमा थिएँ ।’’
जनमुक्ति सेना नेपालको २४औं स्थापना दिवसको अवसर पारेर माओवादका पूर्व लडाकुहरुले नवलपुरको कावासोती–१, पोखरी तालमा आयोजना गरेको पुर्नमिलन तथा वनभोज कार्यक्रममा सहभागि तेस्रो र चौथो डिभिजनका पूर्व जनमुक्ति सना सबैले यस्तै विगत सम्झे, वर्तमान साटासाट गरे र भविष्यको कल्पना गरे ।
त्यसरी मरेर बाँचेका बिक अहिले गाउँमै तरकारी खेती र गाँइ भैसी पालेर मनग्य आम्दानी गर्न सफल भएका छन् । ‘‘दुई विघामा तरकारी खेती गरेको छु, गाई भैसी पालेर दूध बेचेर पनि राम्रै आम्दानी भएको छ,’’ विकले भने, ‘‘जीवन सहज लाग्न थालेको छ, १० जनालाई रोजगारी पनि दिएको छु ।’’
जेनजी उमेरमै २०५४ सालमा माओवादी जनयुद्धमा होमिएका चितवन भण्डाराका कविराज कँडेल वर्हिगमनमा परेर विस्तृत शान्ति सम्झौतापछि रोजगारीका लागि खाडी मुलुक दुबइ गएर १४ वर्ष विताए । त्यहाँबाट कमाएर ल्याएको पाँच लाख रुपैयाँ तरकारी खेतीमा लगानी गरेर अहिले सफल करोडपती कृषक बन्न सफल भएका छन् ।
२० विघा क्षेत्रफलमा तरकारी खेती गरेर पछि होलसेलमा खरिद बिक्रि गर्न थालेका कडेलले अहिले तरकारी विदेश निर्यातसमेत गर्छन् । ‘‘दुनियाँ सुतिरहेको बेलामा राति २ बजे उठेर हाटबजार जान्छु, बिहान १० बजेसम्म तरकारी खरिद बिक्रि गर्छु, दैनिक ७ लाखसम्मको कारोवार हुन्छ,’’ कडेलले भने, ‘‘मासिक ५÷७ लाख रुपियाँ कमाई गर्छु, चारपाँच जनालाई रोजगारी दिएको छु, इमान्दार भएर मेहनत गर्ने हो भने गर्न गाह्रो छैन ।’’
लगनशिल भएर काम गर्ने हो भने नेपालमै पनि राम्रो कमाउन सकिदो रहेछ भन्ने उदाहरण बनेका छन् कडेल । ‘‘दुई वर्षमा दुई करोडमा घर किने, गाडी छ, बैंकमा पनि केही रकम जम्मा गरेको छु, जिन्दगी सहज बन्दैछ, उनले भने ।
सिन्धुली घर भएका देविप्रसाद ढकाल रविन्द्र मजदूरी गर्नका लागि २०६० सालमा पोखरा पुगे । केही समयपछि नै उनी माओवादीमा लागेर जनमुक्ति सेना बने । २०६० साल कात्तिक १८ गते नेपाली सेनाको मध्य प्रितनाले उनलाई गिरफ्तार गरि धादिङको गजुरी ब्यारेकमा राख्यो । गिरफ्तार भएको एक वर्ष ११ दिनमा ब्यारेक तोडेल भागेका उनी पनि अहिले चितवनमा व्यवशायिक तरकारी खेती र गाईभैसी पालनमा मस्त छन् ।
०५६ सालदेखि माओवादी जनमुक्ति सेना बनेका सिन्धुलीको जुगल गाउँपालिका बिर्खबहादुर श्रेष्ठ चितवनको कालिका नगरपालिकामा ठेला गाडामा मौसम अनुसारका तरकारी र फलफुलको व्यापार गर्छन् । ‘‘कहिले मकै पोलेर बेच्नु, कहिले तरकारी र फलफूल अनि कहिले पिडालु र मास बेचेर पाँच छोराछोरीसहित सात जनाको परिवार पाल्नु परेको छ,’’ श्रेष्ठले भने ।
लडाईँको मोर्चामा खानपान र आराम नमिल्दा भरतपुर १६ सरनपुरका विजय परियार क्रान्तिलाई मोटो आन्द्राको क्यान्सर लाग्यो । देशका लागि ज्यान दिन हिँडेका परियार भन्छन्, ‘‘आफूलाई क्यान्सर लागे पनि देशलाई क्यान्सर नलागोस् ।’’ लडाईमा प्राविधिक क्षेत्रमा रहेर काम गरेका परियार अहिले पनि प्राविधिक क्षेत्रमै सक्रिय छन् ।
तेस्रो डिभिजन चौथो बटालियनको सहकमाण्डर भएका बाग्लुङका टेक बहादुर बुढा बम डिस्पोज गर्ने बेलामा सानो गल्तीले दुबै हातका औंला र एउटा आँखा गुमाउनु पर्यो । तर पनि उनले आफ्नै व्यवशाय गरेर सहज ढंगले जीवन गुजारा गरिरहेका छन् ।
यसरी देशका लागि भन्दै ज्यान हत्केलामा राखेर लडाईको मोर्चामा हिँडेका माओवादीका पूर्व जनमुक्ति सेना अझै पनि पार्टीप्रति प्रतिवद्ध रहेको बताउँछन् । तर केही भने पार्टी नेतृत्वले जति गर्नु पर्ने थियो त्यो हुन नसकेको भन्दै खिन्नता व्यक्त गर्छन् ।
‘‘पार्टीमा समस्या छन्, हाम्रो पार्टीमा मात्र नभएर अरु पार्टीमा पनि त्यस्तै छ,’’ परियारले भने, ‘‘सबैले माथिल्लो तहलाई मात्र दोष दिन्छन् । दोष माथिमात्र होइन, सबैलाई समेटेर लैजान नसक्नु तल्ला कमिटिहरु पनि जिम्मेवार छन् ।’’
हेर्नुहोस् भिडियो









