एउटै एजेण्डा लिएर नवलपुरबाट पाँच जनाले चुनाव जित्दा पनि पुरा भएन बाचा

बोमलाल गिरी
नवलपुर, माघ २१ गते । आठ किलोमिटर बाटो नछिचोलिदा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का वासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशीक अस्पताल जानका लागि ६० किलोमिटेर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानु पर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गत त्रिवेणी–दुम्किवास सडकको आठ किमि सडक बन्ने हो भने ६० किमिको सडक यात्रा २० किमिमा छोटिन्छ ।

हरेक चुनावमा दलहरुका भाषण र घोषणा पत्रमा मात्र सिमित हुने गरेको यो सडक निर्वाचन नजिकिएसँगै फेरी चर्चामा छ । यहाँका स्थानीयले उम्मेदवारहरु फेरी त्यही बाटो खोल्ने आश्वासन बोकेर भोट माग्न आउने आँकलन गरिसकेका छन् । तर यो पटक भने खोक्रा आश्वासनमा नभुल्ने गरी मतदाता सचेत भएका छन् ।

‘‘हरेक पटक जव चुनाव आउँछ, त्रिवेणी–दुम्किवासको सडक खोल्न पहल गर्छु भन्दै मोट माग्छन्, तर चुनाव जितेपछि संसदमा यो सडकको आवाज कहिल्यै सुनिएन,’’ त्रिवेणी ६ का मतदाता लेखराज चालिसेले भने, ‘‘पुराना दलका आश्वासन धेरै सुनियो, अव एक पटक नयाँलाई हेरौं, के गर्दा रहेछन् ।’’

२०६२ सालदेखि सुरु गरिएको यो सडकखण्ड २०६३ सालमा ट्रयाक पुरा भएको थियो । २० किलोमिटरको उक्त सडक खण्डमा २०६३ सालको फागुनमा झण्डै एक हप्तासम्म सामान्य सवारी साधन पनि चलेका थिए । तर थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन पनि चल्न सकेनन् ।

पानी र पहिरोले बाटो बिगार्यौ र बाटोको निसाना पनि मेटिँदै गयो । जसले गर्दा अहिले यी दुई वडाका वासिन्दा लुम्बिनी प्रदेशको नवलपरासी हुँदै दाउन्नेको अवरोध छिचोल्दै घण्टौं लगाएर पालिका र जिल्ला सदरमुकाम आउनु पर्ने वाध्यता छ ।

संघीयतापछि धेरै काम वडा कार्यालयबाटै हुने भएपनि नाता प्रमाणित, विवाह दर्ता प्रमाणित, राजश्व, वैदेशिक रोजगारीसँग सम्बन्धित कामका लागि पालिकामै आउनु पर्ने विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितले बताए ।

त्यस्तै उपचारका लागि र ठूलो रोग लागेर अन्य अस्पतालमा जान परेमा रेफर लिनका लागि प्रादेशिक अस्पताल कावासोती–१६ डण्डा जानुपर्छ । सहकारी, मालपोत, नापी लगायत प्रशासनीक कामका लागि पनि जिल्ला सदरमुकाम कावासोती आउनुको विकल्प छैन ।

विनयी त्रिवेणी–६ का वासिन्दा नारायण प्रसाद उपाध्यायले यो बाटो नहुँदा निक्कै ठुलो समस्या झेल्नु परेको भन्दै साच्चीकै बाटो खोलिदिनेलाई भोट दिने बताए । ‘‘कुनै अत्यावस्यक काम परेर आफ्नै पालिका जान पर्यो भने उस्तै परे दिनभरि दाउन्नेको सडक जाम परेर एक दिनम पनि जान सकिन्न, कम्तिमा यो आठ किलो मिटर बाटो खोलिदिए त कति राहात हुन्थ्यो कति’’ आशामा आशंका मिसाउँदै उपाध्यायले भने, ‘‘तर चुनावको बेला मात्र प्रतिवद्दता जनाउने र अरुबेला सबै बिर्सने नेताहरुको परम्परागत रोग भइसकेको छ, खै के गर्लान् र !’’

यो बाटो २०६३ सालमा गजेन्द्र मोक्ष धामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित तत्कालिन १४ गाविसका जनता मिलेर ट्रयाक खोली निर्माण सुरु भएको थियो । तर हालसम्म पनि बाटोले गति नलिएपछि स्थानीय निक्कै चिन्तित बनेका छन् । विनयी त्रिवेणी–७ का स्थानीय सुमन राज पराजुलीले आफ्नै पालिकामा जान पनि अर्कै जिल्ला, अर्कै प्रदेश भएर जानु पर्ने नमिठो बाध्यता रहेको सुनाए ।

पालिकाको पहलमा दुम्कीवासदेखि बगुवनसम्मको आठ किलोमिटरसम्म गाडी गुड्ने बाटो बनेको छ । बगुवनबाट त्रिवेणीको गजेन्द्र मोक्षधाम जाने आठ किलोमिटर बाटो बन्न सकेको छैन । गजेन्द्र मोक्ष धामबाट चार किलो मिटरको दुरीमा भारतीय सीमा भैंसालोटन छ । जुन कुनै समय निक्कै व्यस्त रहने भन्सार नाका थियो । तर अहिले यही बाटोका कारण भन्सार नाका पनि सुनसान जस्तै देखिन्छ ।

यो नाका खुलाउन सकेमा गण्डकी प्रदेशको लागि मात्र नभए समग्र मुलुककै लागि प्रभावकारी हुने र लाभ दिन सकिने बताउँछन् त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसाल ।

प्रदेशकै ‘लाइफलाइन’ मानिएको यो नाकाले दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्छ । त्यसैले यो त्रिदेशीय नाका भएकाले गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ । तर प्रदेशले जुन सक्रियता देखाउनु पर्ने हो त्यो नदेखाएको बताउँछन् त्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाह ।

प्रदेशका हरेक मुख्यमन्त्री, संघीय सरकारका मन्त्रीहरु र सांसदहरुको सधैभरीको चुनावी एजेण्डा मात्र बन्ने गरेपनि बाटो खोल्न पहल नगरेको अध्यक्ष शाहको भनाइ छ । अहिलेसम्म यही बाटोकै एजेण्डा लिएर डा यादव प्रसाद पन्त, मझिलाल थारु थनेत, चन्द्रमणि खराल, तिलक महत र विष्णु कार्कीले चुनाव जितिसक्दा पनि वाचा पुरा गर्न नसकेको उहाँले बताए ।

हेर्नुहोस् भिडियो

तर अव यहाँका मतदाता अहिलेका उम्मेदवार र राजनीतिक अवस्थाका बारेमा सचेत रहेको भन्दै फेरी पनि बाटोको आश्वासन लिएर भोट माग्न आए अव नपत्याउने र कुनै पनि उम्मेदवारले झुक्क्याउन नसक्ने शाहले बताए । त्यो पत्याउन नसक्ने अवस्था स्वयं नेताहरुले नै बनाएका उनको भनाइ छ ।

त्रिवेणीको ८ किलोमिटरमध्ये केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीवास सडक खण्ड बन्न सकेको छैन । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग र वन मन्त्रालयको स्वीकृति अनुसार परामर्शदाता (सार्प कन्सन्टेन्सी–काठमाडौं) छनोट गरी पठाएको र मन्त्रालयले लामो समयसम्म सन्दर्भ सर्तहरु (टीओआर) पास नगर्दा काम अघि बढ्न नसकेको बताए ।