बोमलाल गिरी
नवलपुर, माघ २० गते । प्रधानमन्त्री सुशीला कार्कीले अव निर्वाचन सर्ने सम्भावनाको अन्त्य भएको बताउकी छिन् । सरकारको पुरा ध्यान फागुन २१ मै निर्वाचन गर्नेमा रहेको र त्यही अनुसार तयारी पनि भइरहेको उनले बताइन् ।
तर अत्याधिक चिसोका कारण हिमाली जिल्लाहरुमा फागुन २१ मा निर्वाचन हुन नसक्ने अवथा आएमा भने दोस्रो चरणमा पनि गर्न सकिने उनको भनाइ छ । राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागि हुन मंगलबार नवलपुरको हात्तिखोर आएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।
मौसमले साथ दिएमा भने सबै निर्वाचन क्षेत्रमा फागुन २१ मै चुनाव गराउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । ‘‘सरकारको पूरा ध्यान निर्वाचनमा मात्र केन्द्रित भएको छ, निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गराउन हामी पुरा प्रयत्न गरिरहेका छौं,’’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले हिमाली जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्न गराउन सरकारले गरिरहेको तयारीबारे पनि बताइन् । हिमाली जिल्लामा गाडी आउजाउ गर्ने ठाउँमा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्ने उनको दृढता छ ।
‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्र दोस्रो चरणमा हुन्छ, अन्यथा एकै चरणमा फागुन २१ मै चुनाव गराउँछौं, कार्कीले भनिन् । अहिले विशेष अवस्थामा निर्वाचन हुन लागेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपियाँ खर्च हुने पनि जानकारी दिइन् ।
आज यहाँ पाँच सय ३० जना विद्यार्थी दिक्षीत भएका छन् । यो वर्ष देशभर २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको कार्यक्रममा जानकारी दिइयो ।
प्रधानमन्त्री कार्कीले दिक्षीत क्याडेटहरूलाई सम्बोधन गर्दै यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरिन् । विद्यार्थीको असल आचरण र व्यवहारले उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्ने उनको भनाइ थियो ।









