बोमलाल गिरी
नवलपुर, बैशाख १२ गते । नवलपुरमा सञ्चालित उद्योगपति विनोद चौधरीका उद्योगहरुबाट निस्कने लेदोजन्य फोहोरको असुरक्षित व्यवस्थापनका कारण अत्याधिक मात्रामा दुर्गन्ध फैलिने गरेको र त्यसले भूमिगत पानीको स्रोतमै प्रदुषण फैलाउने सम्भावना उच्च देखिएको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
फोहोर र दुर्गन्धित पानी प्रशोधन विनानै सिधै खोलामा मिसाइएको पाइएको छ । यसले जंगली जनावरको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै संरक्षणकर्मी चिन्तित देखिएका छन् भने दुर्गन्धले स्थानीय सबैभन्दा बढी प्रभावित भएका छन् । अप्रशोधित र अत्याधिक दुर्गन्धित पानी देवचुलीको कर्कदाहा खोला हुँदै नारायणी नदीमा मिसिएको र जंगली जनावरले त्यही पानी पिउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

उद्योगहरुबाट निकास हुने पानीका कारण अन्य जलका स्रोतहरूमा प्रदुषण भइरहेको भन्दै स्थानीयले पटक पटक विरोध गर्दै सिजी उद्योगको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । निवर्तमान गृहमन्त्री सुदन गुरुङ नवलपुर आएको बेला यहाँका स्थानीयले ज्ञापन पत्रसमेत बुझाएका थिए । केही समय पहिले समाचार सेवा डटकमले ‘सीजी उद्योगको प्रदुूषणले वाससथान फेर्दै जंगली जनावर’ शीर्षकमा समाचार छापेको थियो ।
सीजी उद्योगको प्रदूषणले वासस्थान फेर्दै जंगली जनावर
चौतर्फी चासो र दबाबपछि प्रधानमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले गत बैशाख ४ गते सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्ज, नगरपालिकाको वातावरण शाखा, देवचुली–१,२ र ३ नं. का वडाध्यक्ष, सव डिभिजन वन कार्यालय र जेन्जी प्रतिनिधि सम्मिलित उद्योग अनुगमन तथा निरिक्षण समिति गठन गरेको थियो । समितिले सात दिनको अध्ययनपछि प्रतिवेदन तयार गरेको हो ।

उक्त प्रतिवेदनका अनुसार हानिकारक र अप्रशोधित गन्ध आउने पानी नारायणी नदीमा मिसिने र जंगली जनावरले सोही पानी पिउने भएकाले प्रशोधन नगरिएको पानीको निकास तत्काल बन्द गर्न आग्रह गर्दै थप कारवाहीका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको संयोजक सहायक प्रजिअ रानाले बताए ।
नवलपुरको देवचुली नगरपालिका भित्र ७० विगाहा क्षेत्रफलमा फैलिएको चौधरी ग्रुप अफ इन्डष्ट्रिज पार्क र २५ विगाहामा फैलिएका सिजी फुड्स नेपाल लि., सिजी ब्रुअरी नेपाल लि., सिजी प्रिन्ट एण्ड प्याकेजिङ लि., प्रफेक्ट व्यालेण्डस् नेपाल प्रालि., सिजी फ्युचर फ्याक्ट्री प्रालि गरी ६ वटा उद्योग सञ्चालनमा छन् ।

जसमध्ये फुड्न नेपाल, ब्रुअरी नेपाल र सिजी प्रिन्ट एण्ड प्याकेजिङबाट पानी निष्कासन हुने गरेको र सो पानी एकमुष्ठ रुपमा प्रशोधनका लागि स्थापना भएको प्लान्टमा पठाउने र त्यसपछि निकास गर्ने गरेपनि पानी क्षमताभन्दा बढी हुँदा प्रशोधन विनै खोलामा मिसिएको पाइएको अध्ययन टोलीको निष्कर्ष रहेको समिति सदस्य, देवचुली–२ का अध्यक्ष शरद प्रसाद घिमिरेले जानकारी दिए ।
निकुञ्जको पनि चासो
उद्योगबाट निस्केको केमिकल मिश्रित फोहोर पानी जंगली जनावरले समेत पिउने गरेको पाइएपछि चितवन राष्ट्रिय निकुञ्जले पनि चासो दिएको छ । केही समयअघि निकुञ्जले उद्योगदेखि नारायणी नदीसम्म तीन ठाउँको पानीको नमूना लिएर काठमाडौंमा परीक्षण गरेको थियो ।

उक्त पानीको रिपोट अनुसार उद्योग नजिक सबैभन्दा बढी हानीकारक देखिए पनि नारायणीसम्म पुग्दा बग्दो पानीको बहावका आधारमा असर कम हुँदै गएको देखिएको निकुञ्ज प्रमुख, वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले बताए । ‘‘पानीको बहावअनुसार तल जादा केमिकलको असर कम हुनु स्वभाविक हो, तर यो सह्य विषय होइन, यस विषयमा निकुञ्ज गम्भीर छ,’’ डा पन्तले भने ।
विगतका सहमति उलंघन
समितिले यसअघि पटक पटक भएका सहमति पनि उद्योगले पालना नगरेको पाइएको बताएको छ । उद्योगले स्थानीय संघर्ष समितिसँग २०८१ साल मंसिर ११ गते गरेको सहमति पालना नभएको समितिले उल्लेख गरेको छ । त्यतिबेला नयाँ बोइलर जडान गर्ने काम ६ महिना भित्र सम्पन्न गर्नु पर्ने सहमति भएको थियो ।
त्यस्तै प्लान्टको क्षमता दैनिक नौ सय किलो लिटरबाट बृद्धि गरी १५ सय किलोलिटर बनाउने सहमति भएकोमा हालसम्म कुनै प्रगती भएको नदेखिएको समिति संयोजक, सहायक प्रजिअ रानाले बताए ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले पनि उद्योगबाट उत्सर्जन हुने धुलो, धुवा तथा ध्वनीको मापन गरी स्वअनगुमन प्रतिवेदन हरेक छ महिनामा वातावरण विभाग तथा स्थानीय तहमा पठाउन निर्देशन दिएकोमा हालसम्म कुनैपनि प्रतिवदेन नबुझाएको देखिएको पनि रानाले बताए । त्यसैगरी उद्योगले उद्योगबाट निस्केको पानीको स्व अनुगमन मूल्यांकन प्रतिवेदन पनि नगरपालिका वा विभाग कतै पठाएको छैन ।
समिति सदस्य घिमिरेले मुलुककै अग्रणी संस्था चौधरी ग्रुप अफ इन्डष्ट्रिज पार्कले आर्थिक गतिविधिमा, रोजगारी सृजना र राजश्व संकलनमा टेवा पुर्याए पनि उद्योग र यसका सञ्चालक कानुनभन्दा माथि नरहेको बताए । उनले प्लान्टको क्षमता विस्तार, भुसे बोइलरको सट्टा विद्युतीय बोइलरको प्रयोग गरी वातावरण संरक्षण र स्थानीय नागरिक र जनावरको स्वास्थ्य प्रति जिम्मेवार हुन सुझाव दिएको बताए ।
हेर्नुहोस् भिडियो









