दुर्लभ एकसिङे गैँडाको चोरिशिकार शुन्य, मानवीय क्षती पनि घट्यो

बोमलाल गिरी
नवलपुर, बैशाख ८ गते । विश्वकै दुर्लभ एक सिङे गैँडाको चोरीशिकार नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्जले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । (यो समाचार तयार पार्दासम्म) पछिल्लो २९ महिनाभन्दा बढी अर्थात ८ सय ८७ दिनयता निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा गैँडा पनि चोरीशिकारबाट नमरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीशिकार हुन नपाएको उनको भनाइ छ ।

निकुञ्जका प्रमुख, वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले यो सबैको प्रयासले मात्र सफलता हात परेको बताउँछन् । ‘‘चोरीशिकार नियन्त्रण गर्नु ठुलो चुनौतीको रुपमा देखिएको थियो, आज ८८७ दिनसम्म शुन्य चोरीशिकार हुनु सानो प्रयासले भएको होइन,’’ डा पन्तले भने, ‘‘तीनै तहका सरकार, स्थानीय नागरिक, संरक्षणकर्मी, सुरक्षाकर्मी र निकुञ्जको संयुक्त पहलमा शुन्य चोरीशिकार मनाउन सफल भएका छौं ।’’

राष्ट्रिय निकुञ्ज तथा वन्यजत्नु विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य यतिले मात्र नपुग्ने भन्दै सधैभरीका लागि शुन्य चोरी शिकार बनाउने अभियानमा रहेको बताउँछन् ।

प्राकृतिक कारणले मरे १९ गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा चालु आव २०८२÷०८३ को ९ महिनाको अवधिमा १९ गैंडा को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी थापा मगरका अनुसार ९ महिनाको अवधिमा विविध कारणले १९ वटा गैँडाको मृत्यु भएको हो ।

निकुञ्जका अनुसार मरेका १९ मध्ये १० वटाको मृत्यु प्राकृतिक कारणले भएको हो । ५ वटा अर्को गैँडासँग जुधेर घाईते भई मरेका हुन भने दुई वटा दलदलमा फसेर र एउटा करेन्ट लागेर मरेको थापाले बताए ।

एउटा गैंडा गस्तीमा रहेको नेपाली सेनाले आत्मरक्षाका लागि चलाएको गोली लागेर मरेको हो । गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा २८ वटा गैडाको मृत्यु भएको थियो । चोरी शिकारबाट गैंडा मर्न रोकिए पनि प्राकृतिक कारणले गैँडाको मृत्यु हुने क्रम बढिरहदा संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन ।

एउटै गोलीले मर्यो गैँडा
गत चैत २६ गते निकुञ्जमा नेपाली सेनाले आत्मरक्षाका लागि चलाएको एउटै गोलीले लागेर गैँडाको मृत्यु भएको पुष्टि भएको छ । नेपाली सेना नयाँ गोरख गण सेहरी पोस्टबाट खटिएका नेपाली सेनाका जवानले आत्मरक्षाका लागि चलाएको गोलीले २४ वर्षको पोथी गैंडा मरेको थियो ।

डा पन्तका अनुसार निकुञ्जको कोर एरियामा गस्तीमा गएको सेनाका जवान विशाल घर्ति क्षेत्रीलाई बच्चा सहितको गैँडाले आक्रमण गरेको थियो । गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि १४ राउन्ड हवाई फायर गर्दासमेत गैँडा नभागेपछि हानेको एउटै गोलीले गैँडा मरेको पोष्टमार्टम रिपोर्टले पुष्टि गरेको उनले बताए ।

‘‘मावनीय क्षेती हुन नदिनका लागि हवाईफायरबाटै भगाउने पहिलो प्रयास भएको थियो, तर बच्चासहितको गैँडा नभागेर थप आक्रमण गर्न थालेपछि बाध्यात्मक अवस्थामा गोली चलाइएको थियो,’’ डा पन्तले भने, ‘‘र एउटै गोली लागेर गैँडा मरेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । कहिलेकाँही बिशाल जनावर पनि एउटै गोलीले मर्दोरहेछ, यो दुर्लभ दुर्घटना हो ।’’

मानवीय क्षेती घट्यो
निकुञ्जका अनुसार चालु आवमा मावन र वन्यजन्तु बीचको द्धन्द्धबाट भएको असर पनि कम भएको छ । गत आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो । तर चालु आवको ९ महिनामा तीन जनाले ज्यान गुमाएका डा पन्तले जानकारी दिए ।

‘‘स्थानीय समुदाय सचेत भएकाले यो सम्भव भएको हो, त्यसैले सबै मिलेर सचेतना फैलाउन जरुरी छ,’’ पन्तले भने, ‘‘हाम्रो प्रयास शून्यमा झार्ने हो ।’’ स्थानीय व्यक्तिहरु माछा मार्न, निगुरो टिप्न तथा घाास दाउँराका लागि सुरक्षाकर्मीको अनुमतिविना जंगल र नदीमा पस्दा दुर्घटना हुने गरेको निकुञ्जको भनाइ छ ।

हेर्नुहोस् भिडियो