इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् ।

ट्रम्पका अनुसार इरान २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नराख्न सहमत भएको छ । गत सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको आणविक महत्त्वाकाङ्क्षा नै मुख्य एजेन्डा बनेको थियो ।

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब के हुन्छ हामी हेर्छौँ । तर मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्ने एकदमै नजिक छौँ ।’ त्यसको केही घण्टापछि नेभाडाको लस भेगासमा आयोजित एक कार्यक्रममा उनले युद्ध ‘निकै चाँडै अन्त्य हुनुपर्ने’ बताए ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ । यसले अमेरिकी राष्ट्रपतिका लागि ठूलो राजनीतिक सङ्कट निम्त्याएको थियो ।

ट्रम्पले इरानसँग सम्झौता भएमा तेलको मूल्य, मुद्रास्फीति निकै तल झर्ने र आणविक सङ्कट टर्ने दाबी गरेका छन् । अमेरिका र इरानबिच गत साता भएको दुई साता लामो युद्धविराम लम्ब्याउनुपर्ने आवश्यकता नरहेको बताउँदै उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको जिकिर गरे ।

करिब चार साताको बमबारी र शक्तिशाली नाकाबन्दीको परिणाम स्वरूप अहिले इरानसँग निकै राम्रो सम्बन्ध रहेको ट्रम्पको भनाइ छ । अमेरिका–इरान युद्ध सुरु भएपछि इरान समर्थित हिजबुल्लाहले गत मार्च २ मा तेहरानको समर्थनमा आक्रमण सुरु गरेपछि इजरायल र लेबनानबीच १५ महिनापछि पुनः द्वन्द्व चर्किएको थियो